देवघाटधाम, ५ माघ ।
पूर्वीय दर्शन तथा नेपाली भाषा साहित्यका ज्ञाता तथा नेपाली कविताका कुशल शिल्पकार नीराजन पन्तको शुक्रबार बिहान १०:१५ बजे निधन भएको छ । विगत ३ वर्षदेखि क्यान्सर रोगसँग लढ्दै रहेका पन्तको देवघाटस्थित निवासमा निधन भएको हो ।
वि. सं. २०४० असार २१ गते लमजुङको साविक उदीपुर गाविस खत्रीचौरमा पिता वेदराज पन्त तथा माता सावित्री पन्तको कान्छो सन्तानका रुपमा जन्मिएका नीराजन पन्तको प्रारम्भिक शिक्षा लमजुङमा नै भएको थियो । कक्षा ६ बाट शास्त्री तहसम्म देवघाटको महेश संस्कृत गुरुकुल विद्यापीठमा अौपचारिक शिक्षा हासिल गरेका थिए भने वाल्मीकि विद्यापीठबाट ईतिहास पुराणमा आचार्य गरेका थिए । त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम् ए गरेका थिए । हाल नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक नेपाली कवितामा छन्दविधान शीर्षकमा विद्यावारिधि समेत गर्दै थिए । उनी महेश संस्कृत गुरुकुल विद्यापीठमा नेपाली विषय प्राध्यापनरत थिए । ‘देवघाट’ महाकाव्य , ‘म र मेरा ‘ खण्डकाव्य र ‘महापुरुष’ कविता सङ्ग्रह प्रकाशित गरेका नीराजन पन्तका थुप्रै अप्रकाशित साहित्यिक कृतिहरू रहेका छन् ।
कवि नीराजन पन्तको पाञ्चभौतिक शरीरलाई शुक्रबार त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम देवघाट तनहुँमा अपराह्न ३ बजे दाहसंस्कार गरिएको छ ।