भरतपुर, ४ माघ ।
खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुको नगरपरिषद भेला एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भयो । न्यायिक समितिका संयोजक कविता उप्रेतीको अध्यक्षता, नगर प्रमुख शशीकुमार खनिया प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, न्यायिक समिति सदस्यद्वय केदारनाथ पन्त र गोमादेवी भुजेललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन कानुनी सहजकर्ता संजयकुमार चौधरीले गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख शशीकुमार खनियाले सबै मेलमिलापकर्ताहरु नगरमा दिगो शान्ति, न्याय र मेलमिलाप स्थापनाका लागि एकढिक्का भई निस्वार्थ र इमान्दारिताका साथ लाग्नुपर्ने बताए । कार्यक्रममा १३ वटै वडाका वडा मेलमिलाप केन्द्रका संयोजकहरुले वडामा विवादको मेलमिलाप कार्यसम्पादनमा विवादको अवस्था, भएका असल अभ्यास, समस्या तथा चुनौति एवम् भावि रणनीतिका बारेमा आआफ्नो वडाको तर्फबाट रिपोर्टिङ् र अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले दिगो विकासका अवधारणा र शान्ति न्याय र मेलमिलाप स्थापनामा मेलमिलापकर्ताको भुमिका विषयका प्रशिक्षण दिएका थिए । सो क्रममा सापकोटाले दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ५, १० र १६ हासिल गर्नमा न्यायिक समिति एवम् मेलमिलापकर्ताहरुको विशेष भुमिका रहने बताए ।
त्यस्तै कार्यक्रममा अधिवक्ता कमलराज पाठकले देवानी कानुनका आधारभूत सिद्धान्त, फौजदारी कानुनका आधारभुत सिद्धान्त, पारिवारिक कानुन, सम्पति कानुन, विवाह तथा सम्बन्ध बिच्छेद सम्बन्धी कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिएका थिए भने कानुनी सहजकर्ता एवम् अधिवक्ता संजयकुमार चौधरीले न्यायिक निरुपण र मेलमिलापको अवस्था र कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा न्यायिक समितिका संयोजक कविता उप्रेतीले सबै मेलमिलापकर्ताहरुले स्वयंसेवी र निस्वार्थ रुपमा स्थानीय विवाद समाधान र मेलमिलापमा गरिरहेको कामको उच्च मुल्याङ्कन गरिएको बताइन् । `समुदायले पनि तपाईंहरुको योगदानको उच्च मुल्याङ्कन गरिरहेको छ´, उप्रेतीले भनिन् – `आगामी दिनमा हाम्रो सहकार्य र समन्वय अझ अभिबृद्धि हुनुपर्ने छ ।´