मकवानपुर, ४ माघ ।
आगामी माघ १६ गतेदेखि मकवानपुरको मनहरी बजारमा मनहरी महोत्सव हुने भएको छ । मनहरी पुल नजिकैको खोला किनारमा पाँचौँ मनहरी महोत्सवको आयोजना गर्न लागिएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।
माघ २८ गतेसम्म चल्ने महोत्सवमा मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा उत्पादित स्थानीय उत्पादनको बिक्री तथा प्रबर्द्धनलाई प्राथमिकता दिइने मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरले जानकारी दिए ।
यहाँ उत्पादन हुने मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रबर्द्धन गर्न मेला केन्द्रित हुने उल्लेख छ । महोत्सवमा १५० वटा स्टल रहनेछन् । यीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपंक्षी लगायतको प्रवद्र्धनका लागि २० वटा स्टल मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिने संघका महासचिव पदमबहादुर तितुङको भनाइ छ ।
महोत्सवको व्यवस्थापनका लागि सभापति मानन्धरणको संयोजकत्वमा मूल समिति गठन भएको छ भने पश्चिम क्षेत्र समितिमा रहेका २३ जना कार्य समिति सदस्य र पदाधिकारीहरु सबैलाई फरक फरक बिषय र क्षेत्रका संयोजक तोकेर २३ वटा समितिहरु निर्माण गरिएको छ ।