मकवानपुर, ३ माघ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भैँसे-भीमफेदी सडकखण्डको स्तरोन्नतिको काम अबको ३ महिनाभित्र सम्पन्न हुने बताएका छन् ।
प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने बैकल्पिक मार्गको उक्त खण्ड प्रदेश सरकारको लगानीमा निर्माणाधीन छ । उक्त सडकखण्डको बुधबार अनुगमन गर्दै उनले आफूले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा उक्त सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।
डबल लेनको ११ दशमलव ५१ किलोमिटर लम्बाई रहेको सडकको पुनर्निर्माणको काम २०७७ सालमा सुरु गरिएको हो । सडकको अनुगमनका क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भए पनि स्थानीय जनतासँगको छलफलपश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताए । भैँसे-भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको उनले बताए । सडक चौडा र टेवा पर्खाल, ड्रेनसहित करिव ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको छ । त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले आफ्नो गाउँ विकास गर्न सरकारलाई सहयोग गरेको कारण सडक निर्माण काम छिटो भएको बताइन् ।
बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका ईञ्जिनियर हरिप्रसाद ओझाले अनुमानित लागत ६३ करोड ७० लाख ६५ हजार ४ सय ४७ रुपैयाँ ५ पैसा रहेकोमा ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाँमा सम्झौता गराएर काम भईरहेको जानकारी दिए । उक्त सडकमा पर्ने पाँच पुल मध्ये ४ वटा निर्माणाधिन अवस्थामा रहेको छ भने एकवटा पुल निर्माण सम्पन्न भईसकेको ओझाले बताए । २०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप थप भएकोमा अब काम अन्तिम चरणमा रहेको ओझाले जानकारी दिए ।