मकवानपुर, ३ माघ ।
मकवानपुरको भीमफेदी गाउँपालिका– ८ मा अवस्थित लटारम्बेश्वर मन्दिरमा पछिल्लो समयमा पर्यटकहरुको आगमन बढेको छ ।
पहिले पर्यटक आउने गरेकाे भएपनि पानी र बत्तीको असुविधा थियाे । पानीकाे जोहाे पर्यटकले नै गर्दै आएका थिए । त्यही समस्या भोग्नु नपरोस् भनेर भीमफेदी गाउँपालिकाले पानी र बत्तीकाे व्यवस्था गरेकाे छ । यो सुविधाबाट स्थानीयहरु हर्षित समेत भएका छन् । अहिले आउने पर्यटकहरुले सहज रुपमा पानी र बत्तीको सुविधा उपभोग गर्न पाएका छन् ।
लटारम्बेश्वर मन्दिरमा बाटोको सुविधा पहिले नै थियो । अहिले थप व्यवस्थित रुपमा बाटो पनि निर्माण गरिएको गाउँपालिकाले जनाएकाे छ । यस मन्दिरमा मकवानपुरलगायत काठमाडौं, ललितपुर, भक्तपुर तथा तराइका जिल्लाबाट समेत धार्मिक पर्यटक धेरै आउने गरेका छन् । बत्ती र खानेपानी पुर्याउने काम भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको विशेष पहलमा पूरा भएको छ । उक्त लटारम्बेश्वर मन्दिरमा खानेपानी र बत्तीको सुविधा सहज रुपमा पुगेको अध्यक्ष लामाले बताए । अध्यक्ष लामाले लटारम्बेश्वर मन्दिर पुगेर खानेपानी र बत्तीको उद्घाटन समेत गरेका छन् ।
पहिलेदेखि नै पानी र बत्तीकाे योजना निर्माणमा लागेका अध्यक्ष लामाले भने–‘भीमफेदी गाँउपालिकाको एउटा ड्रिम प्रोजेक्ट सफल भएको छ । लाखौँ धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा स्थापित चर्चित लटारम्बेश्वर महादेव मन्दिर क्षेत्रमा बिजुली र डबल लिफ्टीङ माध्यमद्वारा पिउने शुद्ध खानेपानी पुर्याउन सफल भएको छौँ ।’
खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तीर्थालु भक्तजनहरुलाई समस्या हुने गरेकोमा अब भने उक्त समस्याको समाधान भएको छ । लटारम्बेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष माघे संक्रान्तिमा लाग्ने मेला यस वर्ष पनि धुमधामका साथ मेला लागेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ८ को महादेवटारको माथि डब्लु डाँडामा रहेको लटारम्बेश्वर मन्दिरमा नयाँ वर्ष अर्थात वैशाख १ गते र माघ १ गते मेला लाग्ने गर्छ । मेला भर्न मकवानपुरको हेटौंडा, बारा, काठमाडौं, ललितपुर र भक्तपुर लगायत अन्य ठाउँबाट पनि दर्शनार्थीहरू आउने गरेका छन् ।
लटारम्बेश्वर मन्दिर आउन कान्तिलाेकपथकाे काठमाडौंबाट टिकाभैरव छपेली बगुवा महादेवटार हुँदै तथा मकवानपुरकाे हेटौंडाबाट कान्तिराजपथको बाटो ठिङ्गन हुँदै पनि महादेवटार बाट जान सकिन्छ । मेला लगायत दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई स्थानीय युवाहरूले आवश्यक सहयाेग गर्ने गरेका छन् ।
धार्मिक आस्थासँगै प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरुको रोजाईको गन्तब्य बनेको छ, मकवानपुरको श्री लटारम्मेश्वर महादेव । एकदिनको यात्रामै प्रकृतिको धेरैभन्दा धेरै आनन्द लिन सकिने भएकोले काठमाडौं उपत्यका तथा मकवानपुर आसपासका पर्यटकहरुको रोजाईको गन्तब्य बन्दै गइरहेको हो ।
सतिदेविको जट्टा पतन स्थल
हिन्दु धर्मको पौराणिक कथा अनुसार यहाँ सतिदेविको देह त्याग गरेपछि महादेवले पार्थिव शरीर लिएर हिँड्ने क्रममा उनको जट्टा(शिरको कपाल)पतन भएको कथामा उल्लेख छ । त्यसैले यस स्थानलाई लटारम्भेश्वर महादेव भनियो । हिमवत्खण्डको १०४ अध्यायमा लटारम्भेश्वर वर्णन गरिएको छ ।
यसमा आधारित दन्त्यकथा
यस स्थान धार्मिक आस्थाको हिसाब महत्वपूर्ण मानिन्छ । दन्त्यकथा अनुसार एक स्थानीयको गाई हराएको थियो । खोजी गर्ने क्रममा धेरै दिनपछि लटारम्मेश्वर महादेव रहेको स्थानमा फेला पर्यो । यस्ते कठिन स्थानमा कसरी गाई आएर बस्यो र ती किसानले यहाँ भगवान पशुपतिनाथको बास हुनुपर्छ भनेर गाईको थुनबाट दुध बर्षाइदिनु भन्दा गाईको थुनबाट दुध बर्षिएको स्थानीयहरु दन्त्य कथा सुनाउँछन् ।
शिवको शक्तिपीठ
पौराणिक कथा अनुसार शक्तिपीठहरु मध्ये लटारम्मेश्वर महादेव एक हो । यहाँ स्वाच्छ मनले मागेको मनोकांक्षा पूरा हुने स्थानीयहरु बताउँछन् । यस स्थानमा वैशाख १ गते नयाँ बर्ष र माघ १ गते माघे सङ्क्रातिमा ठुलो मेला लाग्ने गरेको छ । यहाँ मेला भर्न काठमाडौं, ललितपुर, भक्तपुरका भक्तजनहरु लटारम्मेश्वरको दर्शन तथा मेला भर्न आउने गरेका छन् ।
नाकादेखि हिमश्रृङ्खलाको अवलोकन
लटारम्मेश्वर क्षेत्रबाट दशिणतर्फ देशको सबैभन्दा ठुलो ब्यापारिक नाका रोक्सौलसँगै तराईका समथर भुभाग नियाल्न सकिन्छ । उत्तरतर्फ हिमशृङ्खलालाई देख्न सकिन्छ । यस क्षेत्रमा हावाको बेगसँगै बहने बादलले घाँसे पहाडसँग लुकामारी खोल्छ । त्यो मनमोहक दृश्यले पर्यटकलाई अलौकिक अनुभूति दिलाउँछ ।