मकवानपुर, ३ माघ ।
बागमती प्रदेश नेकपा(एमाले) संसदीय दलको बैठकमा प्रदेश सरकारको रवैया प्रति एमाले सशक्त उभिनुपर्ने आवाज उठेको छ ।
संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यवहार आवश्यक भन्दा नरम र लचिलो भएकोले सरकारले पेलेर अघिबढ्ने नीति लिएको बताए । एमालेका प्राय: प्रदेश सभा सदस्यहरुले प्रतिपक्ष सरकार जस्तो लचिलो र सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएको बताए । बैठकमा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा(एमाले ) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेकपा ( एमाले) का केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य भारती पाठकले सरकारका केही मन्त्रीले विकास बजेट दिनुलाई आफ्नो डिकुटीबाट दान दिएको रूपमा व्यबहार गर्न थालेको बताइन् । पाठकले सरकारको दम्भ र स्वेच्छाचारीतामा मलजल पुग्ने काम नगर्न नेतृत्वलाई खबरदारी समेत गरिन् ।
यस्तै संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले आफूहरूको मागको गलत ब्याख्या गरेको बताए । संसदीय समितिको पदाधिकारी टुङ्ग्याइनु पर्ने एमालेको मागलाई सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिडेको समेत पाइएको उनले बताए । `हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आमनागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्यौँ, सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गर्यो , तर त्यो कार्यान्वयन गर्नुको साटो प्रदेश सरकारले एमालेले पैसाको कुरा नमिलेर संसद चल्न दिएन भन्ने हल्ला चलाएको छ ।´ – उनले भने ।
संसदीय दलका नेता थपलियाले हाल सरकार प्रतिपक्षीको माग प्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले विश्वास गर्न नसकिने बताए । उनले एमाले जनताको पार्टी भएकोले जनताका पक्षमा डटेर लागिरहनु पर्ने बताए । आफ्ना दलका प्रदेश सभा सदस्यलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिँदै नेता थपलियाले परिस्थिति अनुसार चल्न तयार रहन आग्रह गरे ।