भरतपुर, २ माघ ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सामुदायिक विद्यालयहरुलाई विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न आग्रह गरेका छन् । उपप्रमुख अधिकारीले सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउनुपर्ने बताए ।
भरतपुर- १० मा रहेको चितवन माध्यमिक विद्यालयको ७०औँ वार्षिकोत्सव, अभिभावक दिवस समारोह तथा पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उपप्रमुख अधिकारीले गुणस्तरीय शिक्षा बिना देश विकास सम्भव नरहेको बताए ।
`गुणस्तरीय शिक्षा आजको आवश्यकता हो´ उपप्रमुख अधिकारीले भने – `त्यसको लागि सामुदायिक विद्यालय र महानगरपालिकाबिच समन्वय र सहकार्य हुन जरुरी छ ।´
वार्षिकोत्सव कार्यक्रममा पुरस्कार वितरण, नृत्य, न्यानो कपडा वितरण, छात्रवृत्ति वितरणलगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लीला शर्मा, अभिभावकहरुको तर्फबाट मित्रनिधि तिवारीलगायतले बोलेका थिए ।
पुस २२ गतेबाट शुरु भएको विद्यालयको सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम बुधबार समापन हुँदैछ । बागमती प्रदेशका स्वास्थमन्त्री माननीय उत्तम जोशीले बुधबार एक कार्यक्रमकाबिच विद्यालयको ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई समापन गर्ने कार्यक्रम रहेको छ ।
भरतपुर महानगरपालिकामा हाल १ सय ११ वटा सामुदायिक विद्यालय र ९७ वटा संस्थागत विद्यालय गरी २ सय ८ वटा विद्यालयहरु छन् ।