देवचुली, १ माघ ।
देवचुलीमा प्रथम पिप्रहर माघी मेला सुरु भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल, होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा संचालन भएको मेलाको आइतबार गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जिसीले होमस्टेमार्फत थारु समुदायको संस्कृति, खानाका परिकारहरु र थारु समुदायसँग सम्बन्धि धेरै कुराहरुको प्रचारप्रसार व्यापक रुपमा भएको बताए । `होमस्टेमा बासका लागि टाढाटाढाबाट पाहुनाहरुको आगमन बाक्लो हुँदा राम्रै आयआर्जन भएको विश्वास लिएको छु´ उनले भने । देवचुलीको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली नगरपालिका पर्यटनको हिसाबले सम्भावनाको खानी भएकाले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको बताए । उत्तरमा नवलपुरकै अग्लो डाँडा देवचुली र दक्षिणमा नारायणी नदीसँगै चितवन राष्ट्रिय निकुञ्ज रहेकाले विश्वकै दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु सहज अवलोकन, यहाँका प्राकृतिक सौन्दर्यहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली नगरपालिका अवलोकनको गन्तव्य बनाउनका लागि प्रचारप्रसार आवश्यक रहेको बताए ।
प्रथम पिप्रहर माघी मेला मुल आयोजक समितिका संयोजक पलटप्रसाद चौधरीको अध्यक्षतामा भएको मेलाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
आइतबारदेखि माघ २ गतेसम्म देवचुली- १७ पिप्रहर गाउँमा ३ दिनसम्म संचालन हुने मेलामार्फत ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न, स्थानीय रैथाने कृषि उत्पादन बढावा दिन, स्थानीय श्रम, सीपको सम्वर्द्धन गर्न, परम्परागत खानाका परिकारहरु बिक्री गरी स्वरोजगारलाई टेवा दिन, आयआर्जन तथा जिविकोपार्जनको विकास गर्न, खेलको विकास गरि युवाहरुको व्यक्तित्व विकास गर्न, स्थानीय कलाकारहरुलाई उजागर गर्ने मेलाको मेला मुल आयोजक समितिका अध्यक्ष पलटप्रसाद चौधरीले जानकारी दिए ।
मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन, मेला अवधिभर भलिबल ब्याडमिन्टन प्रतियोगिता, स्थानीय तथा युवा कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने, विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन, मेलाको अवधिमा होटल, होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरी आउने पाहुनालाई विशेष छुट प्रदान गरिने, मेला अवधिभर जंगल सफारीको लागि अग्रिम बुकिङ गर्नेहरुलाई विशेष छुट दिईनेलगायत रहेको मेला आयोजक समितिका प्रवक्ता रिमबहादुर आलेले बताए ।
उद्घाटन कार्यक्रममा देवचुली- १ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली- १३ का अध्यक्ष एकदेव पौडेल, देवचुली १७ का अध्यक्ष गणेश शर्मा चालिसे, होमस्टे महासंघका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियालगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मेला आयोजक समितिका सल्लाहकार सन्तोष धितालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सहजीकरण मेला आयोजक समितिका प्रवक्ता रिमबहादुर आलेले गरेका थिए ।
मेलाको उद्घाटन अघि विभिन्न संघसंस्थाहरुद्वारा फारम चोकदेखि मेला हुने स्थलसम्म शोभा यात्रा निकालिएको थियोे भने मेलाको उद्घाटनपश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो ।
आइतबार राष्ट्रिय कलाकार सरस्वती लामिछानेसँगै सुरेश अन्जान,भक्त थापालगायतले सांगेतिक प्रस्तुति दिएका थिए । त्यसैगरी मेलामा आइतबार बेलुकाबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ भने सोमबार भलिबलका खेलहरु हुनेछन् ।