मकवानपुर, २९ पुस ।
मकवानपुर प्रहरीले हत्या गरी फरार रहेका २ जनालाई १७ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय राम चन्द्र स्याङ्तन र ५० वर्षीय कालु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार दुवै जनालाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको थियो ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो । जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले खोजलतासको क्रममा आइतबार घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत मकवानपुरमा आइतबार नै उपस्थित गराएको छ ।