गैंडाकोट, २८ पुस ।
लायन्स क्बल अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिले पञ्चकन्या आधारभूत विद्यालय गैडाकोट–३, तात्रीबासमा न्यानो कपडा वितरण गरेको छ ।
चाक्सीबारी परिवारको सहयोगमा क्लबले स्कुलमा अध्ययनरत ३५ बिद्यार्थीका लागि ट्र्याकसुट, टोपी र मोजा वितरण गरेको हो । लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्म सन् १८७९ जनवरी १३ तारिखमा अमेरिकामा भएको थियो । संसारभरीका लायन्स क्लबहरुले आफ्ना संस्थापकको जन्मदिन विभिन्न सामाजिक एवं मानवीय कार्य गरेर सप्ताहव्यापीरुपमा मनाउने गर्दछन् ।
विगत ३ वर्षदेखि विभिन्न ४ वटा लायन्स क्लबले गैँडाकोट- ३ मा रहेको पञ्चकन्या आधारभूत विद्यालयको भौतिक पूर्वाधारको विकास, विद्यार्थीको स्वास्थ्य परिक्षण र आवश्यक शैक्षिक सामग्रीहरु वितरण गर्दै आईरहेका छन् । कार्यक्रममा लायन्स क्बल अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरका एक्जुकेटिभ चिफ प्रभाकर पण्डित, एक्जुकेटिभ कोचिफ पूर्णप्रसाद शर्मा, डिष्ट्रिक कोचिफ विनोद पन्त, रिजोन चियर पर्सन डा. गंगा सापकोटा, क्लबका पूर्व अध्यक्ष डाक्टर भावना वाग्ले, निवर्तमान अध्यक्ष डाक्टर सुशील अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक चुडेश्वर भट्टराई, विद्यालयका संरक्षक गणेशबहादुर दर्लामी, विद्यालयका शिक्षिकाहरु एवं अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डाक्टर सरिता राना गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।