मकवानपुर, २८ पुस ।
मकवानपुरकाे हेटौंडा १० मा अवस्थित भुटनदेवी मन्दिरमा रात्रिकालिन पाहुना घर सञ्चालनमा आएकाे छ । भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले संचालन गर्ने गरी भुटनदेवी रात्रिकालिन पाहुना विश्रामघरकाे शनिबार उद्घाटन गरिएकाे हाे ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले विश्रामघरकाे उद्घाटन गरेका हुन् । भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं साधारणसभा तथा अधिवेशनकाे प्रमुख अतिथि समेत रहेका बानियाँले विश्रामघरकाे उद्घाटन गरे ।
समितिको २० औं साधारणसभा तथा रात्रिकालिन पाहुना विश्रामघरको उद्घाटन गर्दै प्रमुख अतिथि बानियाँले भुटनदेवी मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय प्रवर्द्धनका लागि विगतदेखि नै सहयाेग गर्दै आएकाे बताए । उनले आगामी दिनमा पनि आफू र प्रदेश सरकारकाे तर्फबाट सकेकाे सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । नेता बानियाँले धर्म भनेको सत्य र ठिक बाटो हिँडाउने माध्यम भएकाे भएको बताउँदै यसको सम्वर्द्धन र प्रवर्द्धन गर्न हामी सबै लाग्नुपर्ने बताए । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित २४ कोठे विश्रामघरमा ६० जनासम्म बस्न मिल्ने समिति अध्यक्ष राममान श्रेष्ठले बताए ।
समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने बताइएकाे छ । साधारण सभामा मन्दिरलाई सहयोग र विभिन्न क्षेत्रबाट योगदान गर्ने समाजसेवीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।