देवचुली, २६ पुस ।
देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधनसहित सम्पन्न भएको छ । नगर सभाले नगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० को केही अनुसूचीहरु संशोधनको प्रस्ताव बहुमतले पारित गरेको छ ।
बुधबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफलपछि नगर सभा सदस्यहरुले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न गरेको आह्वानमा बहुमत नगरसभा सदस्यले हुन्छ भन्ने मत राखेसँगै प्रस्तावहरु बहुमतले पारित भएको नगरप्रमुख न्यौपानेले सभामा जानकारी गराए ।
नगरसभामा विधायन समितिका संयोजक एकदेव पौडेलले स्थानीय ऐनको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरी नगर उपप्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उनले चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिर मसान्तसम्मको वित्तीय प्रगति समीक्षा समेत प्रस्तुत गरेकी थिइन् । उपप्रमुख तिवारीले चालु आर्थिक वर्षको हालसम्म २२.६३ प्रतिशत वित्तीय प्रगति हासिल भएको बताइन् । जसमा चालु खर्च २५.७९ प्रतिशत र पुँजीगत १५.३१ प्रतिशत वित्तीय प्रगति भएको उल्लेख गरे । पालिकाको विषयगत क्षेत्रतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ ३८.१२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६.९८ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ २०.०१ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ २३.८४ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ९.०४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरसभाले २ करोड भन्दा बढीको योजना कटौती गरेको छ । उप प्रमुख तिवारीद्वारा प्रस्तुत संशोधन प्रस्तावबाट उक्त योजना कटौती गरिएको हो ।
नगर सभाको छ्लफलमा नगर सभा सदस्यहरुले संशोधित बजेट, विधेयकमाथि जिज्ञासा राखेका थिए । उठेका सवालहरु माथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारीले प्रष्ट पारेका थिए । सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले गरेका थिए ।
नगरसभामा देवचुली नगरपालिकाका संस्थापक नगर प्रमुख पुर्णकुमार श्रेष्ठ र देवचुली नगर अस्पतालका लागि जग्गादाता विष्णुदेवी कोइरालालाई सम्मान गरिएको थियो ।