चितवनको पाको पुस्ताकी नारी साहित्यकार गायत्री श्रेष्ठ भरतपुर महानगरपालिका वडा नम्बर २, क्षेत्रपुरस्थित आफ्नै निजी निवासमा आफ्ना पति केशवकुमार श्रेष्ठ, कान्छो छोरा, बुहारी र नातिसँग संयुक्त परिवारमा बस्नुहुन्छ । वि.सं. २००७ सालमा पूर्वी नेपालको सुन्दर नगरी इलाममा जन्मनुभएकी उहाँ वि.सं. २०३० सालमा केशव सरसँग विवाह भएपछि चितवनमा बस्दै आउनुभएको छ । त्रि.वि.बाट नेपाली विषयमा सहप्राध्यापकको पदमा पुगी अवकाश लिनुभएको उहाँ लामो समयसम्म बालकुमारी कलेज, नारायणगढको भाइस प्रिन्सिपल पनि हुनुहन्थ्यो । शिक्षण, साहित्य र समाजसेवा पनि तल्लीन उहाँ चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरको समेत पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँका समालोचना, गीत, संस्मरण र नियात्राका गरी आधा दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् । उहाँलाई हालै अक्षरमार्ग साहित्य परिवार पनौती काभ्रेले सम्मानको घोषणा गरेको छ । उहाँसँग उहाँको सिर्जना र समालोचनाको परिवृत्तमा रहेर कायाकैरनका लागि रमेश प्रभातले छोटो वार्ता तयार पार्नुभएको छ । प्रस्तुत छ, उक्त वार्ता :
रमेश प्रभात : गायत्री म्याडम नमस्कार ।
गायत्री श्रेष्ठ : नमस्कार रमेश भाइ ।
रमेश प्रभात : आराम हुनुहुन्छ नि ?
गायत्री श्रेष्ठ : आरामै छु भन्नुपर्यो ।
रमेश प्रभात : हजुरको दिनचर्या के कसरी बितिरहेको छ म्याडम ?
गायत्री श्रेष्ठ : म परिवारमा बस्छु । समय हो, कटिहाल्छ । अलिअलि पढ्छु, आँखाका कारण धेरै पढ्न सक्तिनँ । अलिअलि लेख्छु, धेरै लेख्न पनि गाह्रो छ । फाट्टफुट्ट कार्यक्रममा पनि पुग्छु, त्यति धेरै बेर बस्न सक्तिनँ । हो रमेशजी, म साहित्यबाट विमुख भने पक्कै भएको छैन ।
रमेश प्रभात : यहाँ साहित्यमा कसरी आउनुभयो केही बताइदिनुस् न ।
नेपालीमा एम्.ए. पास गरेपछि वि.सं. २०३५ सालमा जब म पद्मकन्या कलेजमा पढाउन गएँ, त्यसपछि मात्र मेरो साहित्ययात्रा प्रारम्भ भएको हो । त्यतिबेला म पढाउन जाँदा त्यहाँको साहित्यिक माहोल देखेँ, त्यसले मलाई साहित्यतर्फ आकर्षित गरायो । सबैले लेखेको, ‘गोरखापत्र’मा छपाएको, किताब निकालेको, सेमिनारमा भाग लिन गएको देखेर म मोहित हुन्थेँ । मलाई पनि यस्तो लेख्न आए हुन्थ्यो नि भन्ने लाग्थ्यो ।
आफूले केही लेख्न नजानेको देखेर भित्रभित्र म खिन्न हुन्थेँ । यस्तैमा स्वर्गीय देवी शर्मा दिदीसँग सङ्गत भयोे, जो त्यतिबेला पद्मकन्यामा पढाउनुहुन्थ्यो । मैले उहाँसँग भनेँ, ‘दिज्यू, हजुरहरुलाई यस्तो लेख्न कसरी आउँछ ? मलाई पनि सिकाइदिनुस् न ।’ उहाँले ‘तँलाई के सिकाइराख्नुपर्छ, तैँले लेख्न जानिहालेकी छेस् नि ! लेखेर ल्या न अनि म हेरिदिउँला !’ भन्नुभयो । ‘लेख्न जानेको भए हजुरलाई कहाँ सोध्थेँ र ?’ भनेँ । त्यसपछि उहाँले मलाई महाकवि देवकोटाको ‘म्हेन्दु’ खण्डकाव्यका बारेमा लेखेर ल्याउन भन्नुभयो । मैले पनि आफूले जानेको लेखेर दिदीलाई लगेर देखाएँ । उहाँले त्यो हस्तलिखित सामग्री लिनुभयो । त्यसको केही समयपछि त त्यसलाई ‘गोरखापत्र’को शनिबारीयमा छपाइदिनुभएछ । एकैचोटि पत्रिकामा छापिएर आउँदा त म छक्कै परेँ ।
रमेश प्रभात : सिर्जनामा यहाँले गद्य र पद्य दुवैमा उत्तिकै कलम चलाउनुहुन्छ । नढाँटी भन्दा लेख्न सजिलोचाहिँ कुनमा लाग्छ ?
गायत्री श्रेष्ठ : खासमा लेख्न सजिलोचाहिँ मलाई पद्यभन्दा गद्य लाग्छ । पद्यचाहिँ मान्छे खोजी हिँड्ने कवि एल्बी क्षेत्रीले भनेजस्तो म केबल कोर्ने गर्छु, राम्रो लेख्न सकेको छैन भन्ने लाग्छ मलाई । मलाई कविता र गीतभन्दा निबन्ध लेख्दा भने आनन्द आउँछ ।
रमेश प्रभात : यहाँको साहित्यमा आगमन नै समालोचनाबाट भएको रहेछ । यहाँले सिर्जना पनि गर्नुभएको छ । समालोचक र सर्जकमा के भिन्नता पाउनुहुन्छ ?
गायत्री श्रेष्ठ : कस्तो अचम्मको प्रश्न गर्नुभयो रमेश भाइ ? वास्तवमा म समालोचकभन्दा सर्जकलाई ठूलो ठान्छु । किनभने यदि सर्जकले सिर्जना नै नगरे त्यो समालोचकले के समालोचना गर्छ ? अनि समालोचना गर्नु भनेको त सिर्जना पढेर आफ्नो ब्रम्हले देखेको कुरा लेख्ने न हो । अचेल आएर न विभिन्न वाद र सिद्धान्तलाई अँगालेर लेख्न थालिएको हो । तर म त त्यस्ता वादतिर लाग्ने खालको समालोचक परिनँ ।
रमेश प्रभात : त्यसो भए यहाँको समालोचना प्रभावपरक समालोचना हो, हैन त ?
गायत्री श्रेष्ठ : हो, त्यसो भन्दा हुन्छ । मैले कृति पढ्दा मलाई जस्तो प्रभाव पर्यो, त्यस्तै लेख्ने न हो । मेरो पहिलो किताब पनि समालोचनाकै निस्किएको थियो । वि.सं. २०४६ मा ‘कथाकार देवकुमारी थापाको व्यक्तित्व र कृति विश्लेषण’ नाममा त्यो कृति छापिएको थियो ।
रमेश प्रभात : यहाँले चितवनको साहित्यलाई नजिकबाट नियालिरहनुभएको छ । त्यसको बारेमा केही प्रकाश पारिदिनुहोस् न ।
गायत्री श्रेष्ठ : यहाँले चितवनको साहित्यका बारेमा सोध्नुभयो । मैले अघि नै भनिसकेँ, म अलिक कम पढ्ने व्यक्ति हुँ । मैले चितवनको साहित्य पूरा पढेकी छैन । अलिअलि मात्रै पढेकी छु । यसका आधारमा भन्दा मलाई कस्तो लाग्छ भने चितवनको साहित्यमा अध्ययनको कमी छ ।
मजस्तो अल्छी र कम पढ्ने लेखकको कुरा बेग्लै हो, अलिक सक्षम खालका लेखकहरुले त प्रशस्त पढ्नुप¥यो नि । लेख्नु भनेको केवल मनको बह पोख्नु मात्र त होइन नि । अलिक अध्ययन गरेर लेखे पो गतिलो सिर्जना हुन्छ । फेरि मेरो आफ्नो बारेमा सोध्नुहोला, मेरो बाध्यता त कमजोरीका कारण अध्ययन गर्न सकिरहेकी छैन त म के गरुँ ?
चितवनको विधागत कुरा गर्ने हो भने गद्यमा भन्दा पद्यमा धेरै गजलतिर जाने, कवितातिर जाने प्रचलन चितवनमा बढी देख्छु म । दुईचार वटा रचना लेखेपछि म गजलकार भएँ, म कवि भएँ, अझ भनौँ न वरिष्ठ नै भएँ भनेर ठान्ने प्रवृत्ति बढ्दो छ । यस्तो भावनाले लेखकलाई नाफाभन्दा बढी घाटा हुन्छ भन्ने मलाई लाग्छ ।
रमेश प्रभात : नयाँ पुस्तामा यस्तो खालका भावना विकसित हुनु मेडियाको प्रभाव पो हो कि ?
गायत्री श्रेष्ठ : हुन सक्छ । तर मलाई के लाग्छ भने एउटा पूर्ण गजलकार हुनु, एउटा पूर्ण कवि हुनु भनेको त धेरै मेहनतको कुरा हो । मेडियाले गरेको हल्लालाई लिएर हौसिने हो भने राम्रो लेखक बन्न कठिन छ । लेखन हल्का बन्ने सम्भावना हुन्छ ।
रमेश प्रभात : हुन त यहाँको लेखनमा नारीवाद देख्दिनँ म । तर यहाँ एउटा समालोचक पनि भएको कारण चितवनको नारी साहित्य कसरी नियालिरहनुभएको छ ?
गायत्री श्रेष्ठ : चितवनको नारी साहित्यलाई नियालेर हेर्ने हो भने गहकिलो नारी साहित्यकारहरु असाध्यै कम छ । त्यसमा पनि चितवनका नारीहरुको गद्यलेखन त निकै कमजोर छ भन्ने लाग्छ मलाई । पद्यका कविता, गजल र मुक्तकमा केही आशा गर्न सकिने स्थिति छ । तर त्यो पनि हल्काफुल्का नै लाग्छ । यसमा प्रशस्त मेहनत आवश्यक देख्छु म ।
रमेश प्रभात : त्यसो भए चितवनको गद्य लेखनमा महिलाको उपस्थिति कमजोरै छ त ?
गायत्री श्रेष्ठ : त्यति निराशाजनक नै त होइन । शान्ति शर्माको कथालेखनमा निकै तागत देख्छु म । उसको लेखनमा अध्ययनको प्रभाव राम्रै देखिन्छ । ऊबाट निकै आश गर्न सकिन्छ । त्यस्तै सरला जोशीलाई औपचारिक शिक्षाले साथ नदिए पनि उसको लेखनमा उसको स्वअध्ययनको प्रभाव राम्रै देखिन्छ । कवितामा उसको कलम माझिएको देखिन्छ तर गद्यलेखनमा भने उसले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
रमेश प्रभात : अनि अरु नारी साहित्यकारका बारेमा नि ?
गायत्री श्रेष्ठ : मैले पहिले नै भनिसकेँ म निकै कम पढ्छु भनेर । मैले तिनलाई पूरा नपढे पनि तिनका बारेमा सुन्छु । त्यत्तिका आधारमा कमेन्ट चाहिँ नगरिहालूँ कि ?
रमेश प्रभात : चितवनको नारी साहित्यकारले राम्रो लेख्न के गर्नुपर्ला ?
गायत्री श्रेष्ठ : अध्ययनको विकल्प छैन । राम्रो लेख्नका लागि बढीभन्दा बढी पढ्नुपर्छ । हामी पुरानो पुस्ताले पढेन भनेर हुँदैन । केही गर्छु भन्नेले आफूमा निखार त ल्याउनुप¥यो नि हैन र ?
रमेश प्रभात : अनि चितवनका नारी स्रष्टाहरु हजुरसँग सरसल्लाह लिन आउँछन् कि आउन्नन् ?
गायत्री श्रेष्ठ : अहँ, आउन्नन् । कार्यक्रममा भेट्दा सञ्चो विसञ्चोको सोधनी हुन्छ । साहित्यका बारेमा हल्का कुरा हुन्छ, त्यत्ति हो । मेरो सम्पर्कमा किन आउन्नन् कुन्नि ? त्यसको बारेमा भने मलाई केही थाहा छैन । मलाई उनीहरुको रचना सुन्दा र पढ्दा चाहिँ उनीहरुले अध्यययनको दायरालाई अलिक बढाइदिए हुन्थ्यो लाग्छ ।
रमेश प्रभात : अनि नयाँचाहिँ के लेख्दै हुनुहुन्छ नि अचेल ?
गायत्री श्रेष्ठ : म एउटा संस्मरण सङ्ग्रहको तयारीमा छु ।
रमेश प्रभात : हामीले त्यो कृति कहिलेसम्म पढ्न पाइएला ?
गायत्री श्रेष्ठ : लेख्दै छु । लेखिसकेपछि छपाउनु पर्ला । हेरौँ, कति समय लाग्छ । यसै भन्नचाहिँ सक्दिनँ म ।
रमेश प्रभात : के त्यसमा तपाईले क्यान्सरसँग लडेर जितेका अनुभूतिहरु पनि छन् ?
गायत्री श्रेष्ठ : विल्कुल छैन, म ती पीडादायक दिनहरुको सम्झना गर्न चाहन्नँ । हो, दुःसाध्य रोगसँग लडेका कारण मलाई जीवनप्रति आशावादीचाहिँ पक्कै बनाएको छ, तर त्यसलाई लेखनमा ल्याउनचाहिँ चाहन्नँ म । मेरा उपचारसँग सम्बद्ध केही कुराहरु पुराना कृतिमा आइसकेका छन् । त्यति भए पुग्छ भन्ने लाग्छ मलाई ।
रमेश प्रभात : यहाँलाई हालसालै काभ्रे जिल्लाको पनौतीमा रहेको अक्षरमार्ग नामक साहित्यिक संस्थाले “नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान”को घोषणा गरेकोमा हार्दिक बधाई छ ।
गायत्री श्रेष्ठ : बधाईका लागि हृदयतः आभार तथा धन्यवाद रमेश भाइ ।
रमेश प्रभात : पुरस्कारसँग सम्बन्धित एउटा फरक कुरा सोध्छु म । साँच्चै पुरस्कार तथा सम्मानले एउटा स्रष्टाको सिर्जना केही फरक पार्छ कि पार्दैन म्याडम ?
गायत्री श्रेष्ठ : अलिकति भारी बोकेको जस्तोचाहिँ हुन्छ । तर मचाहिँ त्यति फरक पर्ने खालको मान्छे परिनँ ।
रमेश प्रभात : भनेपछि जिम्मेवारीबोध चाहिँ गराउँछ हैन त ?
गायत्री श्रेष्ठ : हो, पुरस्कार र सम्मानले जिम्मेवारीबोध चाहिँ गराउँछ मलाई । मलाई मात्र होइन, त्यस्तो जिम्मेवारीबोध सबैलाई गराउनुपर्छ भन्ने ठान्छु म ।