रत्ननगर, २६ पुस ।
रत्ननगरस्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण बिहीबारदेखि सुरु भएकाे छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भव्य समाराेहबीच महोत्सव उद्घाटन गरेका छन् ।
साे अवसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नुपर्ने बताए । भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएकाे भन्दै उनले यसकाे अन्त्यकाे लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटकाे असर चाैतर्फी रुपमा रहेकाे छ उनले भने संकटकाे समाधानकाे लागि राज्य चनाखाे हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जकाे संरक्षण र जिल्लाकाे पर्यटनलाईसँगसँगै अगाडि बढाउनु पर्ने बताए । मानव र वन्यजन्तु बीचकाे द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय समुदायकाे जीविकाेपार्जनलाई प्राथमिकता दिनुपर्ने उनकाे भनाई छ । संरक्षणलाई पर्यटनसँग जाेडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सुझाब दिए ।
चितवनमा रेलमार्गकाे सम्भावना रहेकाे भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरी रेलमार्ग निर्माणकाे कामलाई अगाडि बढाउनु पर्ने उनले बताए । आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महाेत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएकाे भन्दै उनले रत्ननगर महाेत्सवले चितवनकाे आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे । निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणकाे काम राेकिनु हुँदैन उनले भने याे दुरगामी प्रभाव पर्ने काम हाे अगाडि बढाउनु पर्छ ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले पूर्वीचितवन विकासकाे श्राेत बाँडफाँटका हिसाबले विभेदमा परेकाे बताए । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुकाे साेचका कारण पूर्वीचितवन पछाडि परेकाे उनलेे बताए । विकासका मुद्धाहरुमा अबकाे बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले साैराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनकाे विकासका लागि बहस चलाउन आवश्यक रहेकाे बताए ।
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले रत्ननगर महाेत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशीलता र विकासलाई जाेड दिएका कारण स्थानीय सरकारले सहयाेग र साथ दिएकाे बताए ।
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाकाे आर्थिक सम्भावनाकाे उजागर गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे बताए । उनले देशकाे आर्थिक प्रणालीमा आएकाे संकट सामधानकाे लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै उनले महाेत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । उनले साैराहाकाे पर्यटनलाई उकास्न पर्यटन गुरुयाेजना, शक्तिखाेरमा उद्योगिक क्षेत्र निर्माण र रत्ननगर अस्पतालकाे सेवा सुधार र विस्तार, पूर्वी चितवनकाे राजमार्गकाे स्तर उन्नती तथा कृषि र पशुपालन मार्फत राेजगारी सृजना गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा संघले प्रकाशन गरेकाे स्मारिका विमाेचन गरिएकाे प्रकाशन समितिका संयाेजक सूर्यप्रकाश रेग्मीले जानकारी दिए । कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, कालिकाका मेयर विनाेद रेग्मी, रत्ननगरका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, राप्रपाका केन्द्रीय सदस्य रामहरि कँडेल, नेकपा समाजवादीका जिल्ला कार्यबाहक अध्यक्ष कृष्णराज न्याैपाने, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष अमर क्षेत्री, जनता समाजवादीका जिल्ला अध्यक्ष मुस्तफा अली, नेकपा मालेका जिल्ला अध्यक्ष तबहादुर विकलगायतले मन्तव्य राखेका थिए ।
महाेत्सव सुरु हुनुपूर्व नेपाल माविबाट शाेभायात्रा निकालिएकाे र शाेभायात्रामा २०० बढी संघसंस्थाकाे उपस्थिति रहेकाे संघका उपाध्यक्ष तथा शोभायात्रा व्यवस्थापन समितिका संयाेजक रामशरण नेपालले जानकारी दिए ।
संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निराजन खनालले महाेत्सवकाे उद्देश्यका बारेमा प्रकाश पारेका थिए । `मकै एक : परिकार र प्रयाेग अनेक´ भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेटदेखि अन्य सामग्रीकाे प्रयाेगलाई आत्मसात गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयाेजक हरि अधिकारीले जानकारी दिए । मकैबालीकाे संरक्षण र प्रवर्द्धनकाे लागि महाेत्सव स्थलमा मकैबाली स्थापना तथा मकैकाे स्टाचु निर्माण गरिएकाे छ । महाेत्सव स्थलमा मकैबाली, केरा बगान, च्याउकाे टनेल र माछा पाेखरी निर्माण गरिने कृषि संयाेजक अधिकारीले जानकारी दिए । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएकाे छ ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु छन् । यसपटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान आयोजकको छ ।
विगतमा जस्तै महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म ५ दिन रत्ननगरको सौराहाचोक बसपार्कमा विभिन्न जनजातिहरुका विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिने छ ।