मकवानपुर, २४ पुस ।
मकवानपुरकाे हेटौंडामा नेपाली चलचित्र `काँडेतार´को विशेष प्रदर्शन हुने भएको छ । हेटौंडामा मंगलबार पत्रकार भेटघाट गर्दै आगामी पुस २७ गते काँडेतारकाे विशेष प्रदर्शन हुने जानकारी गराइएकाे हाे ।
सामाना फिल्मस् प्रालिले खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागेकाे चलचित्रका निर्देशक नवल खड्काले जानकारी दिए । नेपाल भारतको सीमा विवाद, सीमामा हुने झैझगडा, खुल्ला सीमानाका कारण नेपाल र नेपालीमा परेकाे समस्या चलचित्रको कथासार रहेको निर्देशक खड्काले बताए । उनका अनुसार देशभर ६० भन्दा बढी विशेष प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुनेछ ।
काँडेतार आगामी पुस २७ गते दिउँसाेकाे साेमा नारायणी मल अवस्थित एनएस सिनेमा हलमा प्रदर्शन गरिने छ । सत्यकला राई, मकिको राई र अञ्जु केसीले निर्माण गरेकाे काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक खड्काकै कथा रहेकाे चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व, तारा थापा (किम्भे) र बन्दे प्रसादको सम्पादन रहेकाे छ भने र सौरव लामाले खिचेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपील खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्तकुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।