भरतपुर,५ जेेठ ।
तीव्र प्रतिस्पर्धापछि माडी नगरपालिकाको मेयरमा ठाकुरप्रसाद ढकाल विजयी भएका छन् । तर, राति ११ बजेसम्म पनि निर्वाचन कार्यालयले अन्तिम घोषणा गरेन । मतगणना स्थलबाट स्रोतले दिएको जानकारीअनुसार ढकालले कांग्रेसका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतको अन्तरले हराए ।
ढकाल हाल माओवादी केन्द्र चितवनका सहईञ्चार्जसमेत छन् । २०३१ सालदेखि सक्रिय राजनीतिमा होमिएका ढकाल कयौंपटक जेलजीवन भोगेका नेता हुन् । उनी तत्कालीन स्थानीय निकायको चुनावमा दुई कार्यकल साविक गर्दी गाविसका अध्यक्ष बनेका थिए । कायाकैरनसँग संक्षिप्त कुराकानीमा ढकालले भने, “मैले जितेको भनेर मतगणनामा खटिएका प्रतिनिधिले भनेका छन् ।”
स्रोतले मतगणनाको अन्तिम नतिजा भनी दिएको जानकारीअनुसार ढकालले ३ हजार ८ सय ७३ मत ल्याएका छन् भने दोस्रो नम्बरमा रहेका कांग्रेस उम्मेद्वार खेमप्रसाद महतोले ३ हजार ८ सय २९ मत पाए । त्यस्तै अधिकांश समय आफूलाई पहिलो नम्बरमा राखेका एमाले उम्मेद्वार नारदमणि पौडेलले ३ हजार ८ सय २६ मत ल्याउँदा राप्रपा उम्मेद्वार मदन पौडेलले ३ हजार ७३ मत पाए ।
मतगणनामा अग्रस्थानमा रहेका एमाले मेयरका उम्मेद्वार नादरमणि पौडेल माडीको पश्चिम क्षेत्रका वडामा कम मत ल्याउँदै गए । वडा नम्बर ५ उताका वडामा माओवादी र कांग्रेसले एमालेसँगको मतान्तर कम गर्दै लगे । वडा नम्बर १ मा आइपुग्दा माओवादी केन्द्र दोस्रो स्थानमा थियो । तर, अन्तिममा माओवादीले जित हात पा¥यो ।
एमालेबाट उपमेयरमा ताराकुमारी काजीमहतो विजयी भएकी छन् । ती स्रोतले दिएको जानकारीअनुसार महतोले ४ हजार ६ सय ९० मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी उम्मेद्वार अपेक्षा चौधरीले ३ हजार ८ सय ४ मत पाइन् । त्यस्तै राप्रपा उम्मेद्वार भीमकुमारी महतोले ३ हजार १ सय ८६ मत प्राप्त गर्दा कांग्रेस उम्मेद्वार शिवमाया भट्टराईले २ हजार ८ सय ४८ मत पाइन् ।
एमाले उम्मेद्वार पौडेलले बिहीबार दिउँसो १ बजे नै फेसबुकमा लेखेको स्टाटसमा एमालेलाई जिताउन गरेको सहयोगप्रति धन्यवाद दिए । कमेन्ट बक्समा उनले लेखे, ‘मैले जित्ने स्थिति छैन ।’ उनको यस्तो स्टाटस हेरेपछि धेरैले उनी विजयी नहुने आँकलन गर्न थाले । तर, एमालेले माओवादी केन्द्रले वडामा प्यानलसहित जित्दा पनि अग्रस्थानमै रह्यो । माडीका ८ वडामा हारेको कांग्रेसले जित्ने झिनो आशा त्यागेको थिएन । थारु समुदायको बाहुल्यता रहेको र उम्मेद्वारको जन्मथलो रहेको क्षेत्रमा मत पाउने आशा बोकेको थियो ।
माओवादीले वडा नम्बरमा आफ्नो पकड बलियो रहेको बताउँदै आएको थियो । अन्य क्षेत्रको तुलनामा माडी १ मा संगठन पनि बलियो थियो । एमाले संगठन कमजोर रहेको क्षेत्रमा जित्ने कांग्रेस, माओवादी र राप्रपाले सपना बोकेकै थिए । क्रिकेट खेल जस्तो अन्तिम अवस्थामा ‘छक्का’ हान्दै माओवादी केन्द्रले मेयर पदमा जित हासिल गरेको छ ।
राप्रपाका विक्रम पाण्डे निर्वाचित यो क्षेत्रमा राप्रपाले आफूले जित्ने दावी गर्दै आएको थियो । माडीमा कमजोर संगठन रहेको राप्रपाले जित्न सकेन । माडीमा ९ वडा छन् । अन्तिम वडाबाट मतगणना सुरु गरिएको थियो । वडा नम्बर ९ मा मेयर पदमा एमाले पहिलो स्थानमा थियो भने राप्रपा दोस्रो स्थानमा थियो । एमालेले ५ देखि ९ वडासम्म राम्रो मत पाएको थियो । माडीको पूर्वि क्षेत्रमा एमालेले वडाहरुमा प्यानल सहित जित हात पारेको थियो । ९ वडामा माओवादीबाट एक जनाले खुल्ला सदस्य पदमा जितेका छन् । माडीमा ५ वडामा प्यानल सहित एमालेले जितेको छ । एमालेका तर्फबाट वडा नम्बर ९ मा शिवहरी सुवेदी, ८ मा कृष्णराज अधिकारी, ७ मा बालकृष्ण सापकोटा, ६ मा भरत गुरुङ, ३ मा पुरन महतो वडाध्यक्षमा जितेका छन् । माडीका ३ वडामा माओवादी केन्द्रले प्यानल सहित जितेको छ । माओवादी केन्द्रका तर्फबाट वडा नम्बर ५ मा रामबन्धु पोखरेल, ४ मा चन्द्रदिप महतो, २ मा इश्वरी ढकालले वडाध्यक्षमा जितेका छन् ।