रत्ननगर, २३ पुस ।
भरतपुर महानगरपालिका- ११, विशालचोकस्थित युनाइटेड टेक्निकल कलेज (युटेक कलेज)का विद्यार्थीहरुको पहलमा रत्ननगर नगरपालिका- ११, मङ्गलपुरस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रका लागि एक हप्तालाई पुग्ने खाद्यान्न सहयोग गरिएको छ । विद्यार्थीहरु अशुल श्रेष्ठ, प्रबास पराजुली, इन्जिनियर रञ्जन न्यौपाने, शाहिर श्रेष्ठलगायतको नेतृत्वमा संकलित खाद्यसामग्री आइतबार केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरिएको हो ।
कलेजका प्रिन्सिपल प्राडा केशवदत्त अवस्थी, शिक्षकहरु भुवन चलाउने, गणेशराज बसौलालगायतको उपस्थितिमा चेपाङ बालबालिकाका लागि खाद्य सामग्री हस्तान्तरण गरिएको हो । चेपाङ केन्द्रमा खाद्य अभाव हुँदा बालबालिकाको शैक्षिक गतिविधिमा समेत असर पुग्न सक्ने हुँदा केही दिनका लागि भए पनि पुग्ने गरी खाद्य सामग्री संकलन गरेर हस्तान्तरण गरिएको कलेजका विद्यार्थी प्रबास पराजुलीले जानकारी दिए ।
चामल, दाल, नुन, तेल, आलुलगायतका खाद्यसामग्री पाएपछि एक हप्ताका लागि हारगुहार गर्नु नपर्ने केन्द्रका अध्यक्ष शर्माले बताए । ‘उहाँहरुजस्तै सहयोगी मनहरुका कारण चेपाङ केन्द्रले स्थायित्व पाएको छ’, उनले भने, ‘आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग निरन्तर रहिरहनेमा विश्वस्त छु ।’