भरतपुर, २१ पुस ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताएकी छन् । शनिबार नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गरिन् ।
प्रमुख दाहालले भरतपुरको विकास यत्तिकै नभएको बताउँदै उनले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहनाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पारिन् । ‘बजेट सजिलै आउँदैन’, उनले भनिन्, ‘एकपटक गएर हुँदैन। पटकपटकको पहल, सक्रियाताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो।’
प्रमुख दाहालले नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गरिन् । उनले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पुराउनु भएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद व्यक्त गरिन् । भरतपुर महानगरपालिका, स्थानीय चन्दादाताको सहयोगमा १४ लाख ८३ हजारमा भवन निर्माण भएको हो ।
प्रमुख दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापानको यकोसुका सहरबाट ५ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताइन् । रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैरआवासीय नेपाली संघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको उनले बताइन् ।
कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साँखीलगायतको उपस्थिति रहेको थियो ।