भरतपुर, १५ पुस ।
समीक्षक रमेश प्रभात र प्राडा कर्णबहादुर बानियाँ सम्मानित भएका छन् । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७औँ जन्मजयन्तीको सन्दर्भमा साहित्य सङ्गम चितवनले स्रस्टा प्रभात र बानियाँलाई सम्मान गरेको हो ।
प्रभातलाई डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८० बाट सम्मान गरिएको हो । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र परिवारजनले स्थापना गरेका हुन् । यसैगरी खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८० बाट इतिहासविद् तथा साहित्यकार प्राडा कर्णबहादुर बानियाँलाई सम्मान गरिएको हो । यो पुरस्कार साहित्यकार खनाल रेवतीरमण र परिवारजनले स्थापना गरेका हुन् ।
आइतबार नारायणी नमूना मावि भरतपुरमा आयोजित कार्यक्रममा पुरस्कारका संस्थापक पोषराज पौडेल र खनाल रेवतीरमणले प्रभात र बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पुरस्कारको राशि जनही १६ हजार ५ सय रुपैयाँ र सम्मानपत्र रहेको छ । यी दुबै पुरस्कार २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएको हो । पहिलोपटक स्रस्टाहरू पूर्णबहादुर अधिकारी र ईश्वरी ओझालाई यी पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानपछि सम्मानित स्रस्टा प्रभातका बारेमा कवि एवम् अध्येता विपिन पाठकले बोलेका थिए । त्यसैगरी इतिहासविद बानियाँका बारेमा डिआर पोखरेलले बोलेका थिए । प्रकृति एवम् क्रान्तिप्रेमी कवि युद्धप्रसाद मिश्रका बारेमा समालोचक डाक्टर धनेश्वर भट्टराईले चर्चा गरेका थिए ।
प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । त्यसैगरी कायाकैरन दैनिक र कायाकैरन डटकमका स्तम्भकार पनि हुन् । इतिहासविद बानियाँले समालोचना तथा बाल साहित्यका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।