भरतपुर,९ मंसिर ।
वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले भाषणमा रमाउने नेता भन्दा जनताको दुखमा साथ दिने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । भरतपुर–८ पारसनगरमा चौतारी महिला समूहको भेलालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले चुनावका बेला ठुला सपना देखाउँदै भोट माग्न आउने नेतालाई उसको विगतको कार्यसम्पादन हेरेर फैसला गर्नुपर्ने बताए । उनले सँधै नेता बन्न खोज्ने तर जनताको सेवक बन्न नखोज्ने उम्मेदवारलाई पराजित गर्न मताधिकार प्रयोग गर्नुपर्ने सुझाव दिए । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट राप्रपा(प्रजातान्त्रिक) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । लोकतान्त्रिक गठबन्धन अनुसार उनको उम्मेदवारीलाई कांग्रेसले साथ दिएको छ ।
“कामै नगर्ने तर मिठा भाषण गर्न नछाड्ने नेतालाई जनताले बञ्चराको जस्तो चोट दिनु आवश्यक छ”, उनले भने, “निर्वाचन क्षेत्रमा आफ्नो कार्यअवधिभर सँगै रहने उम्मेदवारलाई जिताउनुपर्छ ।” उनले महिलाहरुले हरेक क्षेत्रमा निर्णायक मत राख्ने भएकाले यसपालीको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न अनुरोध गरे । “हरेक पटक रंग फेर्ने, कुरा फेर्ने अनि निर्वाचन क्षेत्र फेर्ने नेताले काम गर्छन् भनेर सोच्नु गलत हुन्छ”, उनले भने, “सहि नेतृत्व जो सेवक भएर विकास निर्माणलाई पूर्णता दिन्छन्, ती उम्मेदवारले जित्नुपर्छ ।” भरतपुर महानगर चुनावमा चुनावी तालमेल गरेर मेयर जितेको ६ महिना नवित्दै कांग्रेसलाई धोका दिने माओवादी केन्द्रले अनावश्यक भ्रम फैलाएर मतदाता प्रवाति पार्न खोजेको आरोप लगाए ।
यस्तै भरतपुर–१६ शिवनगरमा आयोजित कोणसभामा बोल्दै नेता विक्रम पाण्डेले संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गराउन आँफु प्रतिवद्ध रहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा राप्रपा(प्रजातान्त्रिक) र कांग्रेस पार्टी मिलेर विकास योजना ल्याइने बताए । उनले विकासका योजना ल्याउन व्यक्ति प्रभावले कुनै असर नपर्ने भएकाले राज्यको नीतिभित्रै रहेर आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाइने दावी गरे । उनले धर्मसंस्कृति विरुद्ध गतिविधि सञ्चालन गर्ने दल समाजप्रति उत्तरदायी नहुने जीकिर गरे ।
यसैबीच चितवन क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार दिनेश कोइरालाले राजनीतिलाई आम्दानीको स्रोत बनाएर व्यक्तिगत पारिवारको विकास गर्ने नेताले समृद्ध देश बनाउने कुरा भ्रम भएको दावी गरे । उनले निर्वाचनका बेलामात्र विकासे योजना बोकेर मत माग्दै हिँड्ने नेता भन्दा लामो समयदेखि चितवन नछाडेको व्यक्तिनै रोज्नुपर्ने बताए । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शनिबार भरतपुर–१६ र भरतपुर–८ मा घरदैलो अभियानमा सक्रिय भएका थिए ।
भाषणमा रमाउने नेताबाट विकास हुँदैनः मन्त्री पाण्डे
भाषणमा रमाउने नेताबाट विकास हुँदैनः मन्त्री पाण्डे

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस