मकवानपुर, १३ पुस ।
हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा एपिएफले विजय यात्रा सुरु गरेको छ ।
एपिएफले त्रिभुवन आर्मी क्लवलाई २९–२७, २५–१९ र २५–१८ को सेटमा पराजित गरेको हो । टिसिएन चौरमा जारी महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको हो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सरस्वती चौधरी घोषित भइन् ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिकाले खेलकुदसहित नगरको सर्वाङ्गीण विकासमा योजनाबद्ध काम गरिरहेको बताए ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्की, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, भलिबल संघका उपाध्यक्ष ईन्द्र सञ्जेललगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिकाका वडासहित मकवानपुरका स्थानीय तह तथा संघसंस्था तथा व्यक्तिकाे सहयोग रहेकाे मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए । आज हुने तालिका रहेकाे चन्द्रगिरी नगरपालिका न्यु डाईमण्ड र नेपाल पुलिस क्लब बीचकाे खेल हुन नसकेकाेले शनिबार हुने सिटौलाले बताए । प्रतियाेगिताकाे फाइनल खेल पुष १६ गते हुने बताइएकाे छ ।