मकवानपुर, १३ पुस ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ‘प्रदेश खारेज गर्नुपर्छ भन्ने अभिव्यक्तिहरु गैरजिम्मेवार रहेको बताएका छन् ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्कीले प्रदेश र स्थानीय तह मिलेर जनतालाई सहज सेवा दिनु पर्ने बताए । संघीयताको कारण प्रदेशमा समेत आर्थिक चहलपहल बढेकोले प्रदेशलाई जिम्मेवार बनाउदै अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।
‘एकात्मकताको सोच भएकालाइ केही परिवर्तन गर्न सहज हुन्छ, संघीयतालाई कसरी सुदृढ वनाउन सकिन्छ भन्नेमा चिन्तित छौँ’ उनले भने–‘ सरकारले संघीय संसदलाई हस्तान्तरण नगर्ने, अधिकार नदिने हो भने यो सरकारको गैरजिम्मेवार कार्य हो ।’
प्रदेशका एकल अधिकार र साझा अधिकारका वारेमा आज हुने मुख्यमन्त्रीको बैठक मिहिन छलफल गर्ने बताए । ‘संविधान बनाउँदा जसरी सबैको एकमत थियो त्यसरी नै प्रदेशको अधिकारमा एकमत हुनु पर्छ’ कार्कीले भने ‘ प्रदेशले स्थानीय तहलाई चाहिने ऐन बनाउन नरोकेको र बनाउँदै गरेको छ ।’
यसैगरि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा मद्यावधी निर्वाचनको सम्भावना नरहेको बताए । उनका अनुसार कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्नेछ । कार्कीले छिट्टै नै कोशीमा रहेका दलहरुको सहमतीमा सरकारले पूर्णता पाउने बताए । संघीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्नेछ उनले बताए ।
संघीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले शसक्त भूमिका निर्वाह गर्ने उनले बताए । संघीय सरकार र सांसदहरु लोकप्रियताका लागि आफ्नो जिम्मेवारी भन्दा बाहिरका काममा केन्द्रीत भइरहेको उनले आरोप लगाए ।
आजबाट हेटौंडामा मुख्यमन्त्रीहरुको भेलाको छलफलले संघीय सरकार र संसदलाई दवावमुलक सन्देश प्रवाह हुने उनले बताए । ‘संघीयता कार्यान्वयनका सवालमा प्रदेश सरकार एकजुट भई फरक शैलीबाट अघि बढ्ने छ’ उनले भने ।