भरतपुर, ९ पुस ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले व्यावहारिक शिक्षालाई जोड दिएको बताएकी छन् ।
भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगरले विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्ने वातावरण निर्माणको कार्य गरिरहेको उल्लेख गरिन् ।
महानगरपालिका प्रमुख दाहालले घोकन्ते विद्याले मात्र विद्यार्थीलाई ज्ञान नपुग्ने भएकाले हरेक शुक्रबार बिना किताब विद्यालय जाने नीति नियम बनाई कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । उनले शुक्रबारको दिन विद्यार्थीले अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाई, संस्कृतिक प्रतियोगिता, वादविवाद प्रतियोगितालगायतका क्रियाकलाप गरी व्यावहारिक ज्ञान आर्जन गर्ने बताइन् ।
विस २०१७ सालमा आँपको रुखमुनिबाट अध्ययनको सुरुवात गरेको यो विद्यालय भरतपुरको नमुना सामुदायिक विद्यालय हो । विद्यालय एक हजार १० विद्यार्थी अध्ययन गर्ने गर्दछन् ।
वार्षिकोत्सवको अवसरमा प्रमुख दाहालले गणित प्रयोगशालाको पनि उद्घाटन गरिन् । विद्यालयले निकट भविष्यमा सामाजिक प्रयोगशाला निर्माण गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१६ का अध्यक्ष अमृतराज हमाल, वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङ, कार्यपालिका सदस्य गोपाल दराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।