भरतपुर, ९ पुस ।
प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्म जयन्तीको सन्दर्भमा साहित्य संगम चितवनले दुई जना स्रस्टालाई सम्मान गर्ने भएको छ । २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएका दुईवटा पुरस्कारबाट समीक्षक रमेश प्रभात र प्राडा कर्णबहादुर बानियाँ सम्मानित हुन लागेका हुन् ।
डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८० बाट समीक्षक रमेश प्रभात पुरस्कृत हुन लागेका हुन् । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र परिवारजनले स्थापना गरेका हुन् । यसैगरी खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८० बाट इतिहासविद् तथा साहित्यकार प्राडा कर्णबहादुर बानियाँलाई पुरस्कृत गर्न लागिएको साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले जानकारी दिए । यो पुरस्कार साहित्यकार खनाल रेवती रमण र परिवारजनले स्थापना गरेका हुन् ।
पुस १५ गते दिउँसो १ बजे नारायणी नमूना मावि भरतपुरमा कार्यक्रम आयोजना गरी स्रस्टाद्वयलाई सम्मान गरिने अध्यक्ष चापागाईंले बताए । सम्मानित हुन लागेका प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । त्यसैगरी कायाकैरन दैनिक र कायाकैरन डटकमका स्तम्भकार पनि हुन् ।