बाल्यकालमा उनी माइकल ज्याक्सन भनेपछि हुरुक्कै हुन्थे । माइकल ज्याक्सनलाई कपी नगरी उनको दिन कट्दैनथ्यो । बलिउड र हलिउड फिल्मका गीतमा अभिनेताले गरेको नृत्यलाई उनले जस्ताको तस्तै नक्कल गर्थे । स्कुल र गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा उनले भाग नलिएको दिन हुँदैनथ्यो । सबैले उनको प्रशंसा गर्दथे । उनी मख्ख पर्दथे ।
उनी हुन् कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक सुनिल क्षेत्री । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको अभिनय र नृत्य हेरेर हुर्किएका सुनिल अचेल समकालीन नेपाली कलाकारलाई नाच्न सिकाउँछन् । म्युजिक भिडियोमा पनि उनैको स्टेपमा अरु कलाकार नाच्छन् । “अचेलका भाइबहिनीहरू मलाई कपी गर्न खोज्छन् । त्यसलाई मैले दर्शकले मप्रति देखाउनुभएको माया र मैले हासिल गरेको उपलब्धिका रूपमा लिने गरेको छु”, सुनिल बताउँछन् ।
सुनिलको जन्म भने भारतको राजधानी दिल्लीमा भएको हो । उनका बुबा दिल्लीको एक स्टिल कारखानामा काम गर्दथे । सो क्रममा क्षेत्रीकी आमा पनि केही समयमा लागि बस्न दिल्ली पुगेकी थिइन् । त्यही बेला सुनिलको जन्म भएको हो । उनका बुबाले काम गर्ने कारखानाबाट स्टिल पिटेको ट्वाङट्वाङ आवाज निरन्तर निस्किरहन्थ्यो । सामान्य मान्छेलाई कर्कस लाग्ने त्यो ध्वनि उनका लागि लोरी बन्यो । मीठो संगीत बन्यो । सायद शिशु अवस्थाका सुनिलले पहिलो पटक त्यही संगीतको तालमा आफ्ना हातखुट्टा चलाएका थिए । सायद त्यही धुनले उनलाई नाचप्रति आकर्षित गरेको थियो ।
उनी तीन वर्षको पुगेपछि आमाबुबासँगै नेपाल फर्किए । दिल्लीसँग थोरै बहुत चिनचान बटुलेका सुनिलले अब नेपालगञ्जसँग आत्मीयता साट्नुपर्ने थियो । परिवारको आर्थिक पृष्ठभूमि कमजोर भएकाले उनको नेपालगञ्ज बसाइँ पनि त्यति सहज हुनेवाला भने थिएन । गरिबी र अभावसँग जुझ्दै उने बिस्तारै संघर्ष गर्न सिके । संघर्षले जीवन बुझ्न र बाँच्न सिकाउन थाल्यो । यद्यपि सुनिल आफूले हालसम्म कुनै खालको संघर्ष नगरेको तर्क राख्छन् । उनको विचारमा संघर्ष भन्ने कुरा नै हुँदैन । आफूले हात पारेको उपलब्धिलाई बढाइचढाइ गरी सुनाउन मान्छेले संघर्षको कथा जोड्ने गरेको उनको बुझाइ छ । “विद्यार्थीको काम भनेको पढ्ने हो । उसले पढ्ने कामलाई संघर्षको रूपमा हेर्न मिल्दैन । कर्तव्य र संघर्ष दुई फरक पाटा हुन् । आफ्नो कर्तव्यलाई कहिल्यै पनि संघर्ष सम्झनुहँदैन”, उनी सुनाउँछन् ।
नृत्यतर्फको झुकावले उनलाई बिस्तारै पढाइबाट टाढा बनायो । कक्षा १० को परीक्षामा अनुत्तीर्ण भएपछि त उनले पढाइको चटक्कै माया मारेर कलाकारितालाई नै अँगाल्ने प्रण गरे । उनलाई कहिलेकाहीँ आफ्नो शैक्षिक पाटो निकै कमजोर भयो कि भन्ने चिन्ता लाग्छ । तर जब उनी आफूले कलाकारिता क्षेत्रमा कमाएको नामलाई सम्झन्छन् तब पढाइ पूरा गर्न नसकेकोप्रति उनलाई खासै पश्चाताप लाग्दैन । “जिन्दगीमा औपचारिक शिक्षाभन्दा ठूलो कुरा ज्ञान रहेछ । पढेर पनि आफूसँग ज्ञान वा सीप छैन भने त्यो पढाइको खासै महत्त्व नहुने रहेछ”, आफ्नो भोगाइलाई उनी यसरी प्रस्तुत गर्दछन् ।
पढाइ छाडेर सुनिल त्यसपछि काठमाडौँ आए । सुरुवातमा उनले रेष्टुरेन्ट तथा बारमा नाच्ने काम गरे । पछि महेन्द्र पुलिस क्लबमा रहेकी सानिमाको सहयोगमा उनी सशस्त्र प्रहरी बलमा भर्ना भए । उनले त्यहाँ रहँदा सांस्कृतिक विभाग हेर्नेे गर्दथे ।
सन् २०१३ मा आयोजित डान्स इन्डिया डान्स (डिआइडि)को चौथो संस्करणमा भाग लिने रहर लागेपछि उनले एपीएफको जागिर छाडे । डिआइडिमा समेत उनले सबैको मन जितिरहेका थिए । निर्णायक मण्डलमा बसेका बलिउड अभिनेता मिथुन चक्रवर्ती लगायत सबैले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका थिए । अभिनेता चक्रवर्तीले त झन् आफूले जस्तै नाच्न सक्ने मान्छे सुनिल क्षेत्रीभन्दा अर्काे कोही नदेखेको भनी भनेका पनि थिए । तर रिहर्सल गर्ने क्रममा चोटिल भएपछि उपाधि जित्ने रहरलाई थाँती राख्दै उनी उक्त रियालिटी शोबाट बाहिरिनुपर्यो । चोट निको भएपछि उनी विभिन्न स्टेज कार्यक्रमहरूमा सहभागी हुन थाले । उनको रोजीरोटी स्टेजमा नाचेर हुने कमाइबाटै चल्ने गरेको थियो । त्यही कारण पनि उनी म्युजिक भिडियोको उद्योगमा निकै ढिलो मात्रै प्रवेश गरे ।
सन् २०१४ मा रिजिल भएको बलिउड फिल्म ह्याप्पी न्यू इयरमा उनले सुपरस्टार शाहरुख खानसँगै स्क्रिन पनि सेयर गरे । त्यसरी भारतीय फिल्मी उद्योगलाई नजिकबाट नियाल्ने अद्भूत मौका पनि उनलाई मिल्यो । भारतीय फिल्म उद्योगसँग नेपालको तुलना गर्ने हो भने नेपाली फिल्म उद्योगको आकार निकै सानो देखिन्छ । तथापि क्षमताका आधारमा भने नेपाली उद्योग पनि कम नरहेको उनको तर्क छ । “भारतमा निर्माताहरू एउटा फिल्म बनाउन सयौँ करोड रुपैयाँ खर्च गर्छन् । नेपालमा एउटा फिल्मले मुस्किलले २–३ करोडको लगानी पाउँछ”, उनी अगाडि सुनाउँछन्, “भारतमा एउटा म्युजिक भिडियोमा १०–१५ लाखको लगानी हुन्छ । नेपालमा न्यूनतम खर्चमा काम सक्न खोजिन्छ । राम्रो मान्नुपर्ने कुरा चाहिँ के छ भने हामीले थोरै खर्चमा राम्रो सृजना निकाल्ने प्रयास गरिरहेका छौं ।”
सुनिलले पहिलो पटक पाँच वर्षअघि चुम्बक बोलको गीतमा कोरियोग्राफी गरेका थिए । त्यसयता उनले ३ सय बढी म्युजिक भिडियोमा कोरियोग्राफरको भूमिका निभाइसकेका छन् । सुनिलले “चौका दाउ”, “बोके झार”, “नन्दनी” लगायत गीतको म्युजिक भिडियोमा कोरियोग्राफी गरिसकेका छन् । तीमध्ये “चौका दाउ” र “बोके झार”ले युट्युबमा क्रमशः ४ करोड ३० लाख र १ करोड ५० लाख भ्युज बटुलिसकेका छन् ।
क्षेत्रीकै निर्देशन रहेका अन्य म्युजिक भिडियो कसरी कसरी-२ (९.८३ करोड), ओइ (४.२७ करोड), सिम्पल डिम्पल (२.६१ करोड), सोल्टी बजारमा (२.६४ करोड) र तोरी तेल लाएर कपाल कालो भो (१.८२ करोड) गीतले पनि एक करोड भ्युजको ग्राफ नाघिसकेका छन् ।
गएको भदौमा रिलिज भएको गायक हेमन्त शर्माको “निरजाले (उता परेली झिमझिम भो)” बोलको गीति भिडियोमा उनैको कोरियोग्राफी छ । उक्त म्युजिक भिडियोले युट्युबमा हालसम्म एक करोड तीस लाखभन्दा बढी भ्युज कमाइसकेको छ । निरजाले लगत्तै उनको निर्देशन रहेको धादिङ मलेखु बोलको अर्काे गीत पनि युट्युबमा अपलोड भइसकेको छ । कलाकारिता उद्योगमा नृत्य निर्देशकको रूपमा पाइला टेकेका उनले विभिन्न म्युजिक भिडियोमा निर्देशकको समेत भूमिका निभाइसकेका छन् ।
कला भन्ने बित्तिकै सबैले रुचाउने किसिमको हुनुपर्ने सुनिलको बुझाइ छ । आफ्नो कोरियोग्राफीबाट दर्शकलाई कसरी आनन्दित तुल्याउन सकिन्छ भन्नेमा सधैं उनको ध्यान हुन्छ । त्यसका लागि नयाँ कुरा प्रयोग गर्न पनि उनी हिच्किचाउँदैनन् । केही समयअघि मात्रै सार्वजनिक भएको “सरर भागौँला” बोलको गीतको म्युजिक भिडियोमा उनले जोम्बीको प्रयोग गरेका थिए । भिडियोले मिश्रित प्रतिक्रिया पाएको थियो ।
लोकगीतलाई पुरानै ढर्रामा चल्न दिनुपर्छ भन्ने सिद्धान्तलाई उनी मान्दैनन् । नेपाली लोकगीतमा समयानुकूल परिवर्तन ल्याउन म्युजिक भिडियोमा “वेस्टर्न फ्लेबर” मिसाउने गरेको उनी सुनाउँछन् । “नेपाली लोकगीतको भाकामा माइकल ज्याक्सनको डान्स स्टेप मिलाउनसक्नु चाहिँ खुबी हो भन्ने लाग्छ । यहाँ (लोकगीतमा) आधुनिक बाजाको प्रयोग पनि भइरहेको छ । कोरियोग्राफीमा पनि आधुनिकता ल्याउनुलाई नराम्रो भन्न मिल्दैन”, उनी त्यसरी सम्झाउँछन् । यद्यपि टिपिकल स्वाद खोजिने लोकगीतका लागि भने आफूले लोकनृत्य नै रोज्ने गरेको उनी बताउँछन् ।
सधैं गुणस्तरीय काम गर्न इच्छा राख्ने सुनिललाई पुरस्कार र अवार्डको चाहना भने त्यति छैन । न त उनलाई ट्रेन्डिङमा रहने लालसा नै छ । तथापि पुरस्कार वितरण गर्ने नेपाली शैलीप्रति भने उनका असहमतिहरू छन् । “नेपालमा अवार्डको लागि आवेदन भर्नुपर्ने चलन रहेछ । त्यो त मलाई पुरस्कार देऊ भनेर आफैँले हात जोडेको जस्तो देखियो नि । हैन ?”, उनी प्रश्न गर्छन् ।
हलिउड र बलिउड फिल्मले नेपाली दर्शकलाई हलसम्म ताने जसरी नेपाली चलचित्रले स्वयम् नेपालीहरूलाई नै आकर्षित गर्न नसकेकोप्रति सुनिल चिन्ता प्रकट गर्छन् । राम्रो फिल्म बनाउने हो भने फिल्मकर्मीहरूले सुरुदेखि नै गम्भीर र लगनशील भएर काम गर्नुपर्ने तर्क उनी राख्छन् । “नेपाली फिल्मको सन्दर्भमा फिल्म रिलिज गर्ने समय आएपछि मात्र निमार्ण पक्ष तात्ने गरेको देखिन्छ । सुरुदेखि नै फिल्म कस्तो बन्यो भन्नेमा खासै मतलब गरिँदैन । सबै जना फिल्मको प्रोमोसन चाहिँ गज्जब हुनपर्छ भनेर लागिपरेको देख्छु”, सुनिल भन्छन्, “घरघर गएर बोलाएपनि फिल्म राम्रो बनेको छैन भने दर्शक हलसम्म जाँदैनन् । दर्शकलाई आकर्षित गर्न फिल्मको गुणस्तरमा ध्यान दिनुपर्छ, प्रचारप्रसार होइन ।”