गैंडाकोट, ६ मंसिर ।
गैंडाकोटस्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत पुष्कर अधिकारीले जन्मदिनका अवसरमा सामुदायिक विद्यालयका विद्यार्थीलाई मुना बालपत्रिका उपलब्ध गराएका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको विजय आधारभूत विद्यालयका विद्यार्थीलाई अधिकारीले शुक्रबार विद्यालय मै पुगेर बालपत्रिका मुना उपलब्ध गराएका हुन् ।
अधिकारीले जन्मदिनका अवसरमा केही राम्रो काम गरौं भन्ने उद्देश्यले बालबालिकालाई मुना उपलब्ध गराएको बताए । आफूले पनि सानो छँदा मुना पत्रिका पढ्ने गरेको र यसबाट धेरै कुरा सिक्ने अवसर पाएको अधिकारीले विद्यार्थीलाई सुनाए । शुक्रबार बिहानी प्रार्थनाको समयमा विद्यालयको चौरमा कार्यक्रम गरेर विद्यार्थीलाई मुना उपलब्ध गराइएको थियो ।
मुना वितरण कार्यक्रममा मुनाका सम्पादक भक्तबहादुर थापा पनि सहभागी थिए । जन्मदिनका अवसरमा विद्यालयमा आएर बाबुनानीलाई मुना बाँढ्ने कार्यक्रम अनुकरणीय भएको सम्पादक थापाले बताए । मुनामा बालबालिकालाई चाहिने शैक्षिक खुराक हुने भएकोले यो पत्रिका नियमितरूपमा पढ्न सम्पादक थापाले विद्यार्थीलाई आग्रह गरे । मुना पढेर विभिन्न सामग्री सिर्जना गर्न र ती सामग्रीलाई शिक्षक शिक्षिकाको सहयोगमा मुनामा पठाउन पनि थापाले अनुरोध गरे ।
विद्यालयकी प्रधानाध्यापक सरस्वती पाण्डेले जन्मदिन मनाउन आफ्नो विद्यालय छनोट गरेकोमा खुसी लागेको बताइन् । `मुना बालपत्रिका पढेर हाम्रा विद्यार्थीले सिर्जनात्मक कामको सिको गर्नेछन् । हामीले बाबुनानीका सिर्जनालाई प्रोत्साहन गर्नेछौँ ।´, पाण्डेले भनिन् ।
उक्त विद्यालयमा करिव २०० विद्यार्थी अध्ययनरत छन् । मुना वितरण कार्यक्रममा गोरखापत्र दैनिकका पत्रकार एवम् कथाकार वसन्त पराजुली, पठन संस्कारका अभियन्ता लेखराम सापकोटा, तेजेन्द्र रानालगायतको उपस्थिति थियो ।