मकवानपुर, ४ पुस ।
बागमती प्रदेश मन्त्रिपरिषद् मंगलबारकाे बैठकले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्राविधिक तथा प्रशासनिक गरी १ हजार ६ सय ६९ जना कर्मचारीको संगठन संरचना स्विकृत गरेकाे छ । स्वास्थ्य मन्त्रालयकाे संगठन संरचना स्वीकृत भएसँगै अहिले संचालनमा रहेका प्रदेश अस्पतालहरूको समेत स्तरोन्नती गर्ने निर्णय बैठकले गरेको छ ।
प्रदेश मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार हाल सञ्चालनमा रहेका मकवानपुरकाे हेटौँडा अस्पतालसहित प्रदेशका १० अस्पतालकाे स्तरोन्नती गर्ने भएकाे हाे । हेटौंडा अस्पतालकाे स्तरोन्नती गर्दै ३०० बेड, धादिङ अस्पताल (धादिडबेशी) – १०० बेड, त्रिशुली अस्पताल (नुवाकोट ) -१०० बेड, सिन्धुली अस्पताल (सिन्धुली )-१०० बेड, भक्तपुर अस्पताल (भक्तपुर ) – ३०० बेड, बकुलर अस्पताल (चितवन ) – १०० बेड, सिन्धुपाल्चोक अस्पताल ( सिन्धुपाल्चोक ) ५० बेड, रामेछाप अस्पताल (रामेछाप ) -५० बेड, पशुपति चौलागाई अस्पताल (दोलखा ) – ५० बेड र मेथिनकोट अस्पताल ( काभ्रे ) – ५० बेडकाे बनाउँदै स्तरोन्नती गरिने उनले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको कर्मचारी दरबन्दी संरचान समेत स्वीकृत गरेको हो । कर्मचारी दरबन्दी तेरिज तयार पारी सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने छ ।
यसैगरी बैठकले बागमती प्रदेशकाे राजाधानी हेटौंडामा रहेकाे मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविधालय बनाउने निर्णय गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । उनले भने हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रक्रिया अघि बढाउने निर्णय भएकाे छ उनले भने हेटौंडा २ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने गरी कार्य प्रारम्भ गर्नेछौँ । प्रदेश उच्च शिक्षा परिषद्को निर्णयका आधारमा प्रदेश उच्च शिक्षा नियमावली २०७९ को नियम १० (२) बमोजिम सार्वजनिक विश्वविद्यालयकाे लागि कार्यदल गठन गरेर अघि बढिने उनकाे भनाई छ ।
विश्वविद्यालयका लागि आवश्यक क्षेत्र पहिचान गरी ऐनको मापदण्ड अनुसार अध्ययन गरी प्रतिवेदन तयार पारिने तथा सो प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत गरे पश्चात विश्वविद्यालय स्थापनाको अन्य प्रक्रिया अघि बढ्ने छ । केही दिन भित्र प्रदेश सरकार र मकवानपुर क्याम्पस सञ्चालक समिति बिच बैठक बसी अगाडी बढाउने तयारीमा रहेकाे मुख्यमन्त्री जम्कट्टेलले बताए । विश्वविद्यालय स्थापनाका लागि क्याम्पस सञ्चालक समितिसँग छलफल गरेर कार्यालय स्थापना गरिने समेत उनले जानकारी दिए ।
यसैगरी बैठकले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत रहेका विभिन्न प्रहरी इकाइ भवन निर्माणका लागि २६ करोड ५५ लाख २९ हजार रुपैयाँ भुक्तानी गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारका कर्मचारीहरुको पदस्थापन संशोधन गर्ने निर्णय गरेको उनले बताए ।