(मोहन दुवाल, केन्द्रीय अध्यक्ष, साहित्यिक पत्रकार संघ ।)
मोहन दुवाल नेपाली साहित्यिक पत्रकारितामा स्थापित नाम हो । यतिबेला ‘जनमत’ साहित्यिक पत्रिका र मोहन दुवाल पर्यायवाची नामजस्तै भएका छन् । हाल उनी हाल ‘नेपाल साहित्यिक पत्रकार संघ’को केन्द्रीय अध्यक्ष पनि हुन् । नेपालमा साहित्यिक पत्रकारिता के कसरी चलिरहेको छ ? भन्ने बारेमा जिज्ञासा लिएर रमेश प्रभात उनको निजी निवास बनेपासम्म पुगेका हुन् । प्रस्तुत छ, उनीसँग उनकै निवास बनेपा पुगेर कायाकैरनका लागि रमेश प्रभातद्वारा लिइएको एउटा छोटो संवार्ता :
रमेश प्रभात : नमस्कार मोहन दाजु, आरामै हुनुहुन्छ ?
मोहन दुवाल : नमस्कार है रमेश भाइ, आजका मितिसम्म आरामै छु भन्नु पर्यो ।
रमेश प्रभात : दाजु यहाँले साहित्यिक पत्रकारितामा लामो समय गुजारिसक्नुभयो । यहाँले पत्रकारिताको यात्रा सामान्य पत्रकारिताबाट सुरु गर्नु भयो कि सिधै साहित्यिक पत्रकारिताबाट ?
मोहन दुवाल : मैले पत्रकारिताको थालनी साहित्यिक पत्रकारिताबाटै गरेको हुँ । वि.सं. २०२७ सालमा मैले ‘विगुल’ भन्ने साहित्यिक पत्रिका निकालेको थिएँ, सामयिक सङ्कलनका रुपमा । त्यो वर्ष वर्षमा निस्कन्थ्यो । २०२७ र २०२८ सालमा त्यो पत्रिका निस्कियो । २०२९ सालमा त्यतिबेलाको नेपाल सरकार अर्थात् श्री ५ को सरकारले लगभग १००० थान पत्रिका काठमाडौँको प्रेसबाटै जफत गरेर लग्यो । त्यसपछि उक्त पत्रिका निस्केन । त्यसको लगत्तै मैले ‘वेदना’ पत्रिकालाई सहयोग गरेँ । त्यसपछि पनि म विभिन्न साहित्यिक पत्रिकासँग सम्बद्ध भएर काम गरेँ ।
रमेश प्रभात : त्यसो भए ‘जनमत’ चाहिँ कसरी जन्मियो त ?
मोहन दुवाल : म मेरो साहित्यिक पत्रकारिताका बारेमा बताउँदै थिएँ । ‘विगुल’ र ‘वेदना’पछि केही समय मैले ‘उत्साह’ पत्रिकामा पनि काम गरेँ । त्यो पत्रिकासँग पारिजात, रमेश विकल, आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौला आदिको पनि संलग्नता थियो । उक्त पत्रिका मासिक रुपमा निस्कन्थ्यो । त्यसमा मेरो जिम्मा निबन्ध हेर्ने सम्पादकको थियो । उक्त निबन्ध सम्पादकको भूमिकामा मैले एक वर्ष समय गुजारेँ । त्यसको निकैपछि ‘जनमत’ पत्रिका जन्मिएको हो । सुरुमा त्यो साहित्यिक भन्दा पनि विचारप्रधान पाक्षिक पत्रिकाका रुपमा निस्कन्थ्यो । वि.सं. २०४५ पछि मात्र त्यो पूर्ण साहित्यिक मासिक पत्रिकाका रुपमा निस्कन थालेको हो । यसले अनवरत रुपमा ३०० अङ्कभन्दा बढी निकालिसकेको छ । यतिबेला हामी ३१५ औँ अङ्कको तयारीमा छौँ ।
रमेश प्रभात : यहाँले आफ्नो सम्पादनको अनुभव त सुनाउनु भयो । आजसम्म केवल सम्पादक मात्र भएर काम गर्नु भयो कि कुनै पत्रिकामा कोलम आदि केही पनि लेख्नु भयो ?
मोहन दुवाल : हो, रमेशजी यहाँले सही प्रश्न उठाउनु भयो । पाठकहरु किताब सङ्कलन गरेर राख्छन् । पत्रिका राख्दैनन्, त्यसैले पछिका पाठकलाई त्यसका बारेमा थाहा हुँदैन । मैले कोलम चाहिँ धेरै पत्रिकामा लेखेँ । ती साहित्यिक मात्र नभएर आफ्ना निजी धारणा र राजनीतिक वृत्तमा पनि केन्द्रित पनि थिए । त्यस्ता लेखहरु ‘जनधारणा’, ‘युगसंवाद’, ‘नेपाल समाचार पत्र’ आदिमा प्रकाशित भएका छन् रमेश भाइ । अझ ‘नेपाल समाचार पत्र’मा त सात वर्ष साहित्यिक पृष्ठको पृष्ठ संयोजक भएर पनि काम गरेँ । यसरी साहित्यको प्रचार प्रसारमा सात वर्ष समय दिएँ । त्यो काम साहित्यको श्रीवृद्धिका लागि हो भन्ने ठम्याइ हो मेरो । त्यसैले सुरुदेखि आजसम्मको मेरो पत्रकारिता साहित्यकेन्द्री छ ।
रमेश प्रभात : अब प्रसङ्ग बदलौँ । यहाँ यतिबेला साहित्यिक पत्रकार संघको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । त्यसमा नेपाल सरकारले केही बजेट पनि दिने गरेको छ ?
मोहन दुवाल : हो, रमेशजी म अहिले त्यो पदमा छु । साहित्य छाप्ने पत्रिका साहित्यिक पत्रिका र त्यससँग सम्बन्धित पत्रकारहरु साहित्यिक पत्रकार हुन् । यहाँले सरकारको बजेटको कुरा उठाउनु भयो । यसका बारेमा सरकारमा रहेका व्यक्तिहरुले नबुझेको भनौँ कि बुझ्न नचाहेको कुन्नि ? उनीहरु त्यस्ता पत्रिकालाई सहयोग गर्न रुचाउँदैनन् । गत वर्षसम्म नेपाल सरकारले नेपाल साहित्यिक पत्रकार संघलाई वार्षिक एक लाख रुपैयाँ सहयोग दिने गरेको थियो । त्यो पनि यो वर्ष दिएन । केही दिन अघि सूचना तथा सञ्चार मन्त्री रेखा शर्मासँग म एउटा कार्यक्रममा सँगै थिएँ । उहाँसँग त्यस बारेमा प्रश्न पनि उठाएँ । तपाईंको मन्त्रीकाल र मेरो अध्यक्ष कालमा त्यो रकम किन नआएको हो ? भन्ने प्रश्नमा म त्यसका लागि स्रोत खोजौँला भन्ने आश्वासन दिनुभएको छ । त्यसका लागि मन्त्रालय धाउन भ्याइएको छैन । त्यसैले मेरो कार्यकालमा आजका मितिसम्म नेपाल सरकारबाट एक पैसा पनि सहयोगका रुपमा प्राप्त भएको छैन ।
रमेश प्रभात : भनेपछि कार्यक्रम गर्न त निकै गाह्रो होला हैन त दाजु ?
मोहन दुवाल : गाह्रो मात्र होइन, निकै गाह्रो छ रमेश भाइ । केही समयअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस मनाइएको खबर त पढ्नुभयो होला ? असार १२ को उक्त कार्यक्रममा मेरै सक्रियतामा साथीहरुसँग अनुरोध गरेर कार्यक्रम सम्पन्न भयो । पैसाको अभावलाई कसरी टार्ने भन्ने बारेमा साथीहरुले आर्थिक सहयोग गर्नुभयो । एकेडेमीमा कार्यक्रम गर्ने भनेपछि कम्तीमा पचास साठी हजार त खर्च हुने नै भयो । यसका लागि साथीहरु मिलेर सहयोग रकम जुटायौँ । जस्तै कोठा भाडाका लागि नरेशविक्रम शाक्यले दश हजार रुपैयाँ दिनुभयो । मैले र महासचिव सूर्यप्रसाद लाकोजू मिलेर पाँच वटा सम्मान पत्र, दोसल्ला आदिमा खर्च गर्यौँ । भुँडीपुराण प्रकाशनले जलपानको व्यवस्था गरिदियो । यहाँसम्म कि माला पनि सहयोगमा जुटायौँ तर एकेडेमीसँग भिख मागेनौँ । यसरी करिब पचपन्न हजारको खर्चमा उक्त कार्यक्रम सरसहयोगबाटै सम्पन्न भयो ।
यसका अतिरिक्त हामीले पाँच लाख रुपैयाँको अक्षयकोष भने बनाएका छौँ । त्यसलाई बैँकमा मुद्दती खातामा राखेका छौँ । त्यसको व्याज मात्र चलाइन्छ, सावाँ चलाउने त कुरै भएन । अर्को कुरा रमेशजी, हामले पुरानो संस्कारलाई छाडेका छैनौँ, हामी केन्द्रीय समितिका पदाधिकारीहरुले संघ चलाउनका लागि लेभी तिर्ने गरेका छौँ । यसमा सचिवालयमा बस्ने साथीहरुले वार्षिक तीन हजार रुपैयाँ तिर्छौं भने अन्य सदस्यहरुले वार्षिक दुई हजार रुपैयाँ नियमित रुपमा तिर्ने गरेका छौँ । यसैबाट जसोतसो संस्था चलेको छ । कोठाभाडाको कुरा गर्दा पुरानो कार्यसमितिले बाँकी बक्यौता राखेको चौसठ्ठी हजार रुपैयाँ पनि म अध्यक्ष भएपछि जसोतसो गरेर चुक्ता गरेको छु । पुराना अध्यक्ष नगेन्द्रराज शर्माले यसरी बाँकी राखेर छोडेको ऋण पनि यो वर्ष तिरिएको छ ।
साहित्यिक पत्रकारका लागि सरकारले केही गर्दैन । त्यसमा हामी आफ्नै बलबुताबाट जे गर्न सक्यौँ त्यही गर्ने हो । सरकारको मुख ताकेर के गर्नु ? साहित्यिक पत्रकार संघ सरकारको प्रवक्ता भएर काम गर्न सक्तैन । भन्न त सबै सञ्चार मन्त्रीले सहयोग गर्छौैं भन्नछन् नि । सहयोग चाहिँ गर्दैनन्, दिने बेलामा सबै तर्किन्छन् ।
रमेश प्रभात : अनि दाजु यसरी साथीहरुसँग सहयोग मागेर चाहिँ कहिलेसम्म चल्छ त ?
मोहन दुवाल : यतिबेलासम्म चल्छ भनेर त कसरी भनूँ म ? यत्ति भनूँ, जतिबेलासम्म चल्छ चलाउने हो । बाँकी त के भनौँ र खै ?
रमेश प्रभात : यहाँले पाँच लाख रुपैयाँको अक्षयकोष भएको कुरा गर्नुभयो । त्यो रकम यतिबेला निकै कम हो । त्यसलाई बढाएर अलिक बढी बनाउन पाए संस्था राम्रोसँग चल्थ्यो भन्ने लाग्दैन यहाँलाई ?
मोहन दुवाल : हो रमेशजी, हामीले अर्को एउटा कोष खोल्ने सोंच बनाएका छौँ । त्यसमा मेरो समितिका साथीहरुको सक्रियता रहेको छ । सूर्यप्रसाद लाकोजूले बाह्र हजार रुपैयाँ दिने कुरा गरिसक्नुभएको छ । मैले पनि त्यति नै रकम राख्ने कुरा गरिसकेको छु । हामीले हरेक वर्ष साहित्यिक पत्रकारलाई सम्मान गर्नका लागि एउटा कोष बनाउने योजनाको प्रारम्भिक रुप हो यो ।
यतिबेला केन्द्रमा मात्र क्रियाशील भएको यो संघलाई सातै प्रदेशमा कमिटी गठन गर्ने सक्रियता बढाउने योजना छ । सात नम्बर प्रदेशमा म सुदुर पश्चिमको भ्रमणमा जाँदा कमिटी गठन भइसकेको छ । एक नम्बरमा गङ्गाप्रसाद सुवेदीलाई जिम्मा दिएको हो, काम हुँदै होला । यसरी सातै प्रदेशमा कमिटी गठन भएपछि त्यहाँबाट पनि लेभी सङ्कलन गर्ने योजना छ ।
रमेश प्रभात : फेरि पनि म त्यही कुरा गर्दै छु । यो लेभी उठाउने तरिका त राजनैतिक पारा भएन र भन्या ?
मोहन दुवाल : के गर्ने त रमेश भाइ ? संस्था चल्नै पर्यो । हामी व्यापारीसँग चन्दा उठाउन जान सक्तैनौँ । सरकारले सहयोग गर्दैन । अनि कसो गर्ने त ?
रमेश प्रभात : यसअघि मैले त साहित्यिक पत्रकार संघको अध्यक्ष भनेर राधेश्याम लेकालीको नाम सुनेको थिएँ । यहाँले उहाँको नामै लिनुभएन त !
मोहन दुवाल : उहाँको संस्था अर्कै हो । त्यसमा सङ्गठनको मर्यादा छैन । त्यसको अधिवेशन भएको कुरा थाहा पाउनुभएको छ ?
रमेश प्रभात : साहित्यिक पत्रकार नामका र एउटै प्रकृतिका दुईवटा संस्था किन चाहियो दाजु ?
मोहन दुवाल : त्यसो होइन रमेश भाइ । उहाँहरुको सम्बद्धता एनआरएनसँग छ । उहाँसँग देश विदेशबाट साहित्यकारहरु आउनुहुन्छ । पुस्तक प्रकाशन गराउनुहुन्छ । भव्य विमोचन समारोह गराउनुहुन्छ । बेलाबेलामा साहित्य गोष्ठीहरु पनि गराउनुहुन्छ । तर त्यसमा साहित्यिक पत्रकारहरु छैनन् । त्यसमा साङ्गठनिक मर्यादा छैन ।
हो, नेपालमा साहित्यिक पत्रकार नामका दुईवटा संस्था छन् । यसमा दुई मत छैन । हामीले २०६३ देखि नेपाल साहित्यिक पत्रकार संघ चलाइरहेका छौँ । यसका विधिवत् अधिवेशनहरु हुन्छन्, कार्यसमिति फेरिन्छन् । यसमा गणतान्त्रिक अभ्यास छ । यसमा सबै विचार बोक्नेहरु अटाएका छौँ । अझ हाम्रो संस्थामा साहित्यिक पत्रिका निकाल्ने मात्र सदस्य बन्ने प्रावधान छ । राधेश्याम लेकालीको साहित्यिक पत्रकार संघमा त्यसो भएको मलाई थाहा छैन । त्यसमा जो पनि सदस्य बन्न सक्छन् । त्यस्तो पनि कहीँ साहित्यिक पत्रकार संघ हुन्छ ?
रमेश प्रभात : त्यसो भए यतिबेला मोहन दुवाल र राधेश्याम लेकाली दुई प्रतिस्पर्धी हुन् त ?
मोहन दुवाल : त्यसो पनि नभनी हालौँ । उहाँ आफ्नो तरिकाले चलिरहनु भएको छ । म आफ्नै पाराले चलिरहेको छु । उहाँको पारा व्यक्तिगत छ भने म संस्थागत हिसाबले चलिरहेको छु । हो, उहाँले पनि यी दुई संस्थालाई एउटै बनाउने प्रस्ताव ल्याउनुभएको छ । हामी पनि त्यसमा सहमत छौँ, कुरा यत्ति हो कि त्यसको कार्यान्वयन भने भएको छैन ।
रमेश प्रभात : त्यसो भए पानी बाराबारको स्थिति छैन हैन त ?
मोहन दुवाल : विल्कुल छैन रमेशजी । उहाँले उहाँको कार्यक्रममा पनि मलाई विशेष अतिथि भनेर बोलाउनुभएको थियो । त्यो कार्यक्रममा मैले कार्यक्रम गर्ने जिम्मा तपाईंको हो, हामीले त सङ्गठनलाई बलियो बनाउने, त्यसलाई राष्ट्रभरि फैलाउने काम मात्र गर्छौं भनेर बोलेको थिएँ ।
रमेश प्रभात : तपाईंको पालामा नेपाल साहित्यिक पत्रकार संघले गरेका कामहरुका बारेमा केही प्रकाश पारिदिनुस् न !
मोहन दुवाल : मैले अगाडि नै भनिसकेँ हामीले संघको स्थापना दिवस मनायौँ । तिर्न बाँकी रहेको घरभाडा तिरेर संघलाई ऋणमुक्त बनायौँ । यसबाहेक मेरो कार्यकालमा साहित्यिक पत्रकारलाई दिने गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा पचास पचास हजार राशिको दुईवटा पुरस्कार स्थापना भयो । यो काम यसअघि भएको थिएन । रोचक घिमिरे दाइ अध्यक्ष हुनुभएको अवस्थामा प्रत्येक साहित्यिक पत्रिकालाई ग्रेडिङ गरेर पन्ध हजार जति आर्थिक सहयोग दिलाउने काम भएको थियो । त्यसअघि साहित्यिक पत्रिकालाई पत्रिका नै मान्ने चलन थिएन । उहाँले त्यो काम गराएर छाड्नु भयो ।
रमेश प्रभात : यहाँको ध्यान पूरा सम्मानतिर मात्र केन्द्रित देखियो । साहित्यिक पत्रकार संघको काम सम्मान मात्र गर्ने हो ? प्रकाशनतर्फ चाहिँ ध्यान दिनु पर्दैन र दाजु ?
मोहन दुवाल : हैन रमेशजी, हामीले यसअघि ‘आलेखन’ नामक पत्रिका तेस्रो अङ्कसम्म निकालिसकेका छौँ त । चौथो अङ्कमा पुगेर त्यो रोकिएको थियो । त्यसलाई पुनः निरन्तरता दिने मेरो योजना छ ।
रमेश प्रभात : त्यो त पत्रिका प्रकाशनको कुरा भयो । यसले साहित्यिक पत्रकारका साहित्यिक कृतिहरु प्रकाशनतर्फ पनि जोड दिनु पर्ने हैन र ?
मोहन दुवाल : हामी त साहित्यिक पत्रकार संघ पो हो त । साहित्यकार संघ त होइन नि रमेशजी । सबै काम म नै गर्छु भनेर कहाँ हुन्छ र ? राधेश्याम लेकाली अध्यक्ष रहेको संस्थाले चाहिँ त्यो काम पनि गर्छ कि ?
रमेश प्रभात : त्यसो भए तपाईंको साहित्यिक पत्रकार संघको सदस्य बन्ने प्रावधान के छ ? त्यसका लागि पत्रिकाको सम्पादक नै हुनुपर्ने हो कि साहित्यिक पत्रिकासँग सम्बद्ध जोकोही हुनसक्छ ?
मोहन दुवाल : अहिलेसम्मलाई हामीले साहित्यिक पत्रिकालाई मात्र आमन्त्रण गरेका छौँ । तिनीहरुलाई नै गोलबन्द गर्न पनि निकै कठिन छ । देशभरिबाट साहित्यिक पत्रिका कति निस्किरहेका छन् ? तिनीहरुको अभिलेखीकरण पनि त हुनुपर्यो नि ? यतातर्फ कामहरु सुरु भएका छन् । त्यसमा एफएम् रेडियो, अनलाइन पत्रिका आदिलाई जोड्न सकेका छैनौँ । साहित्यपोष्टका भाइ अश्विनी कोइरालाले मसँग बारम्बार त्यो प्रश्न उठाउने गर्नुभएको छ । मैले उहाँसँग हामीले तत्काल तपाईंलाई लिनसक्ने स्थिति छैन भन्ने जवाफ दिने गरेको छु ।
यहाँको सवालको जवाफमा यसो भनौँ, साहित्यिक पत्रकार भनेको पत्रिकाको सम्पादक मात्र त हुँदै होइन, कोलम लेख्ने पनि साहित्यिक पत्रकार हो । उदाहरणका लागि श्रीओम श्रेष्ठ रोदनलाई साहित्यिक पत्रकार मान्ने कि नमान्ने ? तर सबैलाई एकैचोटि समेट्दा भद्रगोल हुनजान्छ भनेर सुरुमा साहित्यिक पत्रिकालाई मात्र गोलबन्द गर्न लागिएको हो । अहिलेलाई यसमा दर्ता भएका साहित्यिक पत्रिकाबाट दुई जना सदस्य बनाउने प्रावधान राखिएको छ । त्यो काम पूरा भएपछि अरुलाई समेट्दै जान सकिन्छ ।
रमेश प्रभात : भनेपछि तपाईंको कार्यकालमा हामीजस्ता स्वतन्त्र रुपमा साहित्यको सेवा गरिरहेका फाट्टफुट्ट कोलम पनि लेखिरहेकालाई समेट्ने योजना छैन ?
मोहन दुवाल : अहिलेलाई त्यो स्थिति बनेको छैन । त्यो निरन्तर प्रक्रिया हो रमेश भाइ । हेर्दै जाऊँ त्यसले पनि एक दिन अवश्य मूर्तता पाउने छ ।
रमेश प्रभात : यहाँको नेतृत्वमा रहेको नेपाल साहित्यिक पत्रकार संघको निरन्तरताको कामनासहित अहिलेलाई कुराकानी यहीँ रोक्न चाहन्छु । यहाँले दिनुभएको समय र जवाफका लागि धन्यवाद ।
मोहन दुवाल : चितवनदेखि मलाई खोज्दै बनेपासम्म आउनुभयो । मेरा विचारहरु सम्प्रेषण गर्ने अवसर दिनुभयो । यहाँलाई पनि धेरै धेरै धन्यवाद छ रमेशजी ।