भरतपुर, २६ मंसिर ।
कवि पदम अर्यालको अङ्कुरण कवितासङ्ग्रह प्रकाशन भएको छ ।चितवन साहित्य परिषद्ले प्रकाशन गरेको यस कवितासंग्रहमा ३० वटा कविता र अन्तिममा छन्द–परिचय खण्ड राखिएको छ । कृतिको थालनी अनुष्टुप छन्दमा लेखिएको मंगलाचरणबाट भएको छ ।
शार्दूलविक्रीडित छन्दमा लेखिएको कवि शीर्षकको दोस्रो कवितामा कविको गुणगान गाइएको छ । तेस्रो कविता हिमाल उपजाति छन्दमा लेखिएको छ । पञ्चचामर छन्दमा लेखिएको अर्को कविता हो, म बोल्छु देश छन्दमा । यो कविताले देशभक्तिको भाव बोकेको छ ।
पाँचौँ र छैटौँ कविता स्रग्धरा छन्दमा लेखिएको छ । मन्दाक्रान्ता छन्दमा लेखिएको मेघदूत कवितापछि शिखरिणी छन्दमा लेखिएको विगत आगत रहेको छ । यो पुस्तकभित्रको सबैभन्दा लामो कविता पनि हो । स्रग्धरा छन्दमा लेखिएको मेरो जन्मस्थल कवितामा कविले आफ्नो जन्म भएको जिल्ला पाँचथरको रोचक वर्णन गर्नुभएको छ । स्रग्धरा छन्दमा लेखिएको छैन केही अपूर्ण शीर्षकको कवितामा कविले आफू स्थायी बसोबास गरिरहेको जिल्ला चितवनको विशेषता वर्णन गर्नुभएको छ ।
अङ्कुरण कवितासंग्रहभित्र रहेका अन्य कवितामा देशमा स्वर्ण फल्छ (मालिनी), ग्रन्थशाला (भुजंगप्रयात), नवदृष्टि (तोटक), सुवासिनी (वंशस्थ), स्वस्थ जीवन सूत्र (अनुष्टुप), राष्ट्र मर्छ है (अनुष्टुप), एमसीसी (अनुष्टुप), दिल दुख्छ नि बेस्सरी (अनुष्टुप), जान्छ है घरबार यो (अनुष्टुप), गर्जन्छ शार्दूलझैँ (शार्दूलविक्रीडित), नव वधुशिक्षा (मन्दाक्रान्ता), सङ्कष्टको सामना (शार्दूलविक्रीडित), आमाको पुकार (मन्दाक्रान्ता)लगायत छन् । यश कविता सङ्ग्रहको पछाडि छन्दपरिचयलाई पनि समेटिएकोले छन्द सिक्न सिकाउन पनि उपयोगी सामग्री रहेको छ । केही कविता बालबालिकालाई देशप्रेमको भावना जागृत गराउन र नैतिक शिक्षा प्रदान गर्न निकै उपयोगी रहेका छन् ।
‘अङ्कुरण’ का स्रष्टालाई चिठी शीर्षकमा पुस्तकको भूमिका लेख्नु भएका वरिष्ठ कवि गोविन्दराज विनोदीले कवि अर्यालमा आध्यात्मिक चेतनाको प्रबलता रहेको बताउनु हुन्छ ।
भुवानीशंकर बहुमुखी क्याम्पस खैरहनीमा प्राध्यापनरत कवि अर्याल चितवन साहित्य परिषद्को कोषाध्यक्ष एवं आजीवन सदस्य र नेपाली लेखक संघ, चितवन शाखाको सहसचिव हुनुहुन्छ ।