भरतपुर, २६ मंसिर ।
भरतपुर-१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला मंगलबार स्कुल प्राङ्गणमा सम्पन्न भएको हो ।
चितवनमै पहिलोपटक आयोजित पिबिएल मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौड्यालले उद्घाटन गरेका हुन् । सो अवसरमा पौड्यालले ग्रीनल्याण्डले चितवनमै पहिलोपटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तार वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै खुशी व्यक्त गरे ।
उनले यस किसिमका कार्यक्रम सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिको गर्न आवश्यक रहेको औंल्याए । यस्तै ग्रीनल्याण्डले हरेक मंगलबार गर्दै आएको बुक फ्री डेलाई शुक्रबार सार्न समेत आग्रह गरे । उनले सबै विद्यालयमा बुक फ्री डे बारे महानगरले पनि योजना बनाएको जानकारी गराए । कार्यक्रममा उपस्थित वडाध्यक्ष तथा अतिथिहरुले पनि पिबिएल मेला शिक्षामा नवीनतम प्रयास भएको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रममा यस किसिमको मेलाको सुरुवात गर्ने गोल्डेन गेट कलेजका फाउण्डर तथा प्राचार्य सिंगा लामा पनि उपस्थित थिए । उनले शिक्षामा यस्ता कार्यक्रमले क्रान्ति ल्याउन मद्दत मिल्ने बताए ।
मेलामा विद्यार्थीहरुले प्रोजेक्ट बेस्ड लर्निङ (परियोजनामा आधारित सिकाई) का क्रममा तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरेका थिए । ८४ वटा चुनिएका प्रोजेक्टहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले बताइन् ।
उक्त मेलामा विद्यार्थीहरुले तयार परेका चिया, चटपट, मोमो, योमरीलगायतका विभिन्न परिकार, बाटेको धुप बिक्री वितरण गरेका थिए । यस्तै विद्यार्थीहरुले मेलाका आगन्तुकहरुको ब्लड ग्रुपिङ, रोबोटिक, जलविद्युत, रेन डिटेक्टरलगायत पनि प्रस्तुत गरेका थिए ।