भरतपुर, २४ मंसिर ।
चितवन जिल्लामा सञ्चालित सहकारी संस्थाहरुका व्यवस्थापकहरुको साझा संगठन कोअपरेटिभ म्यानेजर्स क्लव चितवन (सिएमसी) को प्रथम साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाले युनिक बचत तथा ऋण सहकारी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेरणा बचतका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद सुवेदी, सचिवमा मार्गदर्शन साकोसका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम र कोषाध्यक्षमा एभरेस्ट साकोसका व्यवस्थापक लोकमाया ढकाल सुवेदीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा हंस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा, अथर्व साकोसका व्यवस्थापक प्रेमप्रसाद ढकाल, पुष्पाञ्जली साकोसका व्यवस्थापक फणीन्द्र अधिकारी (सोहन), पञ्चतारा साकोसका व्यवस्थापक सिर्जना भट्ट र माँ मनकामना साकोसका व्यवस्थापक शशिकला रेग्मीलाई चयन गरिएको निर्वाचन उपसमिति संयोजक डाक्टर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचित अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा सहकारी क्षेत्रको समग्र हितको लागि काम गर्ने प्रतिवद्धता जनाए । सदस्य एवम् पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक फणीन्द्र अधिकारीले सहकारीका व्यवस्थापकहरुको हित र मुलुकको दिगो अर्थतन्त्रका लागि ऐक्यबद्धता जनाउँदै सहकारीको मर्म र उद्देश्यअनुरुप काम गर्न साझा संगठन निर्माण गरिएको बताए ।