काठमाडौं, २४ मंसिर ।
नेपाली कांग्रेसको भ्रातृसंगठन चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको अध्यक्षमा डा. हेमराज लामिछाने निर्वाचित भएका छन् । सङ्गमको शनिबार काठमाडौँमा सम्पन्न ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनले डा. लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बालचन्द्र आचार्य, उपाध्यक्ष डा. रामकृष्ण रेग्मी, महासचिव सुशील श्रेष्ठ, सचिव इन्दिरा भट्ट र कोषाध्यक्ष विष्णुप्रसाद नेपाल निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरुमा कमल पौडेल, नवराज अधिकारी, प्रमोद भट्टराई, लक्ष्मी श्रेष्ठ, विमलप्रसाद पौडेल, शुक्रराज पौडेल, सुजन रेग्मी र हुमा भट्टराई चयन भएका छन् ।
चितवनबाट काठमाडौँ आएर बसेका प्रजातन्त्रवादीहरू सङ्गठित हुनका लागि विसं २०४७ मा स्थापना भएको सङ्गममा हाल दुई सयभन्दा बढी सदस्य आबद्ध छन् ।
सङ्गमको नवनिर्वाचित कार्यसमितिलाई कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बधाई ज्ञापन गर्दै खादा र टीका लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।