भरतपुर, १९ मंसिर ।
रुकुम जिल्ला अदालतले रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको घटनामा संलग्न २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । घटनाको तीन वर्षपछि मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले यस्तो फैसला सुनाएको हो ।
यसअघि धरौटीमा छुटेका आठ जनालाई अदालतले सफाइ दिएको छ । त्यस्तै, अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई २/२ वर्षको कैद र ५० हजार जरिबानाको फैसला सुनाएको छ । उनीहरूलाई जातीय छुवाछुत कसुरमा सजाय सुनाएको हो ।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले भने, “पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ भने आठ जनाले सफाइ पाएका छन् । नवराजकी प्रेमिका र उनकी आमालाई दुई/दुई वर्षको जेल र ५० हजार जरिबाना भएको छ ।”
२०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीहरूसहित रुकुमपश्चिमको चौरजहारी–८ मा मल्ल थरकी प्रेमिकालाई लिन गएका थिए । दलित युवकले ठकुरीको छोरीलाई भगाउन लागेको भन्दै सोती गाउँका स्थानीयले आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो । १२ जना घाइते भएका थिए। मृतकको शव भेरी नदीमा भेटिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय माग दाबी गरिएको थियो ।
जिल्ला अदालतले थुनछेक बहसपछि २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउँदै ११ जनालाई तारेखमा छाड्ने आदेश दिएको थियो ।
रुकुमको सोती घटनामा नवराजसहित लोकेन्द्र सुनार, टीकाराम सुनार, सञ्जु विक, गणेश बुढा र गोविन्द शाहीको मृत्यु भएको थियो । शाहीको शव घटनाको १० दिनपछि भेरी नगरपालिका–१२ स्थित खोदा खोलानजिकै भेरी नदी किनारमा भेटिएको थियो ।
घटनाका सम्बन्धमा छानबिन गर्न गठित नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल संयोजकत्वको संसदीय समितिले घटना नियोजित रूपमा भएको निष्कर्ष निकालेको थियो ।
मुद्दामा बहस गर्न रूकुम पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, “आज न्यायले जितेको दिन हो l”