भरतपुर, १५ मंसिर ।
भरतपुर महानगरपालिका-२९ मा रहेको आधारभूत विद्यालय रातमाटेमा अध्ययनरत बालबालिकाले न्यानो लुगा, शैक्षिक, खेल र सरसफाईका सामग्री प्राप्त गरेका छन् । महानगरको पहाडी क्षेत्रमा रहेको यस विद्यालयमा विपन्न समुदायका बालबालिका अध्ययन गर्छन् । चिसो बढेसँगै न्यानो लुगा नहुँदा बालबालिकालाई विद्यालय आउन समस्या भएको थियो ।
अभिभावकले कापी, कलमसमेत किन्न नसक्दा विद्यार्थी रित्तै विद्यालय पुग्ने गरेका थिए । ‘खेल, सरसफाई त उनीहरुका लागि धेरै परको कुरा थियो,’ प्रधानाध्यापक बलबहादुर कुमालले भने, ‘यसै पनि विद्यार्थी घट्दै रहेका छन् । शैक्षिक सामग्री र न्यानो कपडा नहुँदा भएका विद्यार्थीले पनि विद्यालय छाड्ने हुन् कि भन्ने पिर थियो ।’
उक्त विद्यालयमा हामीले नगरे कसले गर्ने संस्थाको समन्वयमा भरतपुरका युवाहरुले सहयोग गरेका हुन् । अमृत काफ्ले, पारश अधिकारी, प्रताप देवकोटा, कुमार अधिकारी, सुमन घिमिरे, डा. दीपक तिवारी, सुदीप ढकाल, कृष्ण ढकाल, विनोद ढकाल, सरोज ज्ञवाली, दामोदर सापकोटा, सरद सुवेदी, जीवन न्यौपानेलगायतले सहयोग गरेका हुन् । सबै विद्यार्थीलाई दुई-दुई सेट सुइटर र ट्राउजर, टोपी, जुत्ता, मोजा, ब्रस, टुथपेष्ट, साबुन र खेल सामग्रीहरु सहयोग गरिएको काफ्लेले जानकारी दिए ।
५ कक्षासम्म पढाई हुने यस विद्यालयमा १२ जनामात्रै विद्यार्थी पढ्छन् । यहाँ डेढ घण्टा परबाट हिँडेर पनि विद्यार्थीहरु पढ्न आउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद गुरुङले गरिबी, बेरोजगारी, चेतनाको कमीलगायतका कारण विद्यालयमा बालबालिकाको संख्या घट्दै गएको बताए । ‘बालबालिकालाई कसरी आकर्षित गर्ने भनेर हामी लागिरहेका छौं । घर-घरमा पुगेर अभिभावकलाई सम्झाउने गरेका छौं,’ उनले भने, ‘महानगरले विद्यालयलाई अन्य विद्यालयमा मर्ज गर्न खोजेको छ । त्यसो गर्दा यी बालबालिका पढाईबाट बञ्चित हुन्छन् ।’ उनले सहयोग खोज्दै बालबालिकालाई टिकाइराख्नुपरेको बताए ।
विद्यालयका शिक्षक बलराम जोशीले शिक्षकको संख्या पनि कम हुँदा बहुकक्षा शिक्षण प्रणाली अपनाउनुपरेको बताए । अहिले यहाँ कक्षा १ देखि ५ सम्म पढाउन २ जनामात्रै शिक्षक छन् । १ जना शिशु शिक्षिका छन् । जोशीले अहिले विद्यालयलाई कम्तीमा एक जना शिक्षक आवश्यक रहेको बताए ।