कसरा, १४ मंसिर
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलन गरी गैँडा मुद्दाका आठ जना आरोपीलाई सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडा मारेर फरार रहेका उनीहरुलाई खाग र बन्दोबस्तीका अन्य सामानसहित पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ खाल्डोमा पारेर मारिएको अवस्थामा दुईवटा गैँडा भेटिएका थिए । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारी खाग लगिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
गैँडा मारेर खाग बिक्रीको प्रयास गरेको आरोपमा पक्राउ पर्नेहरुमध्ये हेटौँडा–३ का ३३ वर्षीय रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले बताए । उनी मंसिर ९ गते राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् ।
सोही ठाउँबाट सोही दिन पक्राउ पर्ने अन्यमा राप्ती–११ का ४२ वर्षीय आइतेसिंह मोक्तान, राक्सीराङ–९ का ४४ वर्षीय शमशेर थिङ, मनहरी–६ का ५६ वर्षीय सीताराम थिङ, रोल्पा सुनछहारीका २८ वर्षीय अर्जुन रोका र गोरखा बारपाकका ७७ वर्षीय धनबहादुर गुरुङ छन् ।
राप्ती–११ का ४० वर्षीय उनबहादुर स्याङ्तान र मनहरी–७ का ५६ वर्षीय ईन्द्रबहादुर स्याङ्तानलाई मंसिर ११ गते राप्ती नगरपालिका–५ बाट पक्राउ गरिएको विभागले विज्ञप्तिमा जनाएको छ । गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको निकुञ्जको भनाइ छ ।
निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर मंसिर १२ गते विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।
निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका थिए ।
पछिल्लो गैँडागणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र देशभर सात सय ५२ गैँडा गणना गरिएको थियो ।
गैँडा मुद्दाका आठ जना आरोपी सार्वजनिक
गैँडा मुद्दाका आठ जना आरोपी सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस