देवचुली, ११ मंसिर ।
देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिएको छ । नगर अस्पतालमा सेवाग्राहीलाई न्युनतम शुल्कमा विशेषज्ञ सेवा प्रदान गर्नेगरी सेवा विस्तार गरिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । सेवाग्राहीहरुलाई भरतपुर पुगेर सेवा लिनपर्ने बाध्यता न्यूनीकरणका लागि नगर अस्पतालमा नै विशेषज्ञ सहितको सेवा सुरु गरिएको हो ।
नगर अस्पतालमा प्रत्येक आइतबार हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सूर्यप्रसाद मिश्र र प्रत्येक हप्ताको सोमबार स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रमेश पौडेलद्वारा सेवा प्रदान गरिने श्रेष्ठले बताए । नगर अस्पताल संचालन समितिको निर्णय अनुसार अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिएको हो ।
नगर अस्पतालका अनुसार विशेषज्ञ सेवा लिनका लागि बिमा भएका सेवाग्राहीका लागि रु २०० र अन्यका लागि रु ३०० लिने निर्णय भएको छ । अस्पतालमा पेट, छाती तथा मुटु रोग विशेषज्ञ र छाला रोग विशेषज्ञ सहितको सेवा थप गर्ने तयारी समेत गरिएको छ । नगर अस्पतालमा दैनिक ३ सयदेखि ५ सय सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।