चितवन, १० मंसिर ।
लामो समयदेखि अलपत्र बनी काँसघारीमा परिणत भएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सरसफाइ सुरु गरिएको छ । भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो ।
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा अहिले काँसघारीले भरिएको छ ।
३ अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेशनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो । ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुसमा कामबाट हात झिक्यो । त्यसयता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।
अहिले नेपाल सरकारले उक्त रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरेको छ । त्यसअघि बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रंगशाला बनाउने निर्णय गरेका थिए । सरकारका तीन वटै निकायले रंगशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रंगशालामा सरसफाइ अभियान सुरु गरिएको छ । सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
सरसफाइ अभियनमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रंगशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् । उनले राष्ट्रिय गौरवमा परेपछि अब बजेट अभाव नहुने र रंगशाला निर्माणलाई तीव्रता दिन महानगरपालिकाले आफ्नो तर्फबाट सम्पूर्ण शक्ति लगाउने बताइन् ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने धारणा राखे । स्थानीयहरुले पनि अब रंगशलाला बन्नेमा आफूहरु ढुक्क बनेको प्रतिक्रिया दिएका छन् ।