भरतपुर, ८ मंसिर ।
चितवनको प्रतिष्ठित शैक्षिक संस्था गुरूकुल माध्यमिक विद्यालयले कक्षा ११ व्यवस्थापन शङ्कायमा अध्ययनरत विद्यार्थीहरूमाझ एक दिवसीय वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
सिद्धार्थ बैंक लिमिटेड भरतपुर शाखाका मेनेजर सन्दीप बराकोटीले प्रशिक्षण दिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई बैंक भनेको के हो ? नेपालमा कति र कस्ता प्रकृतिका बैंकहरू सञ्चालनमा रहेका छन् ? र बैँकले केकसरी बैंकिङ कारोबार गर्छन् ? भन्नेबारे जानकारी गराएका थिए ।
श्रव्यदृश्य प्रविधिको प्रयोग गरी प्रभावकारी माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा बराकोटीले डिजिटल बैंकिङ र अनलाइन पेमेन्टका बारेमा समेत प्रशिक्षित गराएका थिए ।
विद्यालयको सभा कक्षमा आयोजना गरिएको उक्त कार्यक्रमबाट विद्यार्थीहरू बैंक तथा वित्तीय साक्षरतासम्बन्धी जानकारीबाट लाभान्वित भएको कार्यक्रम संयोजक सुशील रेग्मीले जानकारी दिए । तालिममा १२० जना विद्यार्थी सहभागी रहेको विद्यालयका शैक्षिक निर्देशक सिर्जन अविरलले बताए । कार्यक्रममा लेखा विषय प्रमुख नवीन भण्डारी र सामाजिक विषय शिक्षक रुद्रनाथ दवाडीलगायतको सहभागिता थियो ।