मकवानपुर, ७ मंसिर ।
प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०७९।०८० मा अधिकृतस्तर र सहायकस्तरका गरी ७ सय १३ जना उम्मेदवारलाई स्थायी नियुक्तिकाे लागि सिफारिस गरेकाे छ । आयोगको चौंथो वार्षिकोत्सवकाे अवसरमा मंगलबार ४ वर्षकाे प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्याङ्क पेश गरेकाे हाे ।
आयोगले स्थापनाकाे ४ वर्षमा स्थानीय तह र प्रदेशस्तरीय कार्यालयमा रिक्त रही माग भएका विभिन्न सेवा समूहका गरी अधिकृतस्तरका ४१ जना र सहायकस्तरका ६ सय ७२ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएकाे प्रदेश लाेक सेवा आयाेगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
गत आवमा कुल ७ सय १३ जना उम्मेदवार स्थायी नियुक्ति लागि सिफारिस गरिएकामा १७ जना आन्तरिक प्रतियोगिताबाट, ४ सय ४७ जना खुला र २ सय ४९ जना समावेशीबाट रहेकाे आयाेगकाे तथ्याङ्कमा उल्लेख गरिएकाे छ । समावेशीतर्फ सिफारिस भएका २४९ उम्मेदवारमध्ये १३५ जना महिला, ६४ जना आदिवासी-जनजाति, ३२ जना मधेसी र १८ जना दलित कोटाका छन् । सिफारिस गरिएका उम्मेदवारहरु मध्ये २ सय ८३ महिला र ४ सय ३० जना पुरुष छन् । आयोगको तथ्याङ्क अनुसार आयाेग स्थापनाकाे ४ वर्षकाे अवधिमा स्थायी नियुक्ति लिएका उम्मेदवारमध्ये सहायक स्तर चौथो र पाँचौँ तहका विभिन्न सेवा समूहका ६ सय ७२ जना छन् भने अधिकृतस्तर छैटौँदेखि नवौँ तहसम्मका ४१ जना रहेका छन् ।
बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी ऐन २०७९ जारी गरेपछि हालसम्म आयाेगले अधिकृतस्तर १० औं तहमा कार्य सम्पादन, उमेर र वरिष्ठताका आधारमा १२ जना कर्मचारीको बढुवा गरी ११ औँ तहमा पदस्थापन गरेको छ ।
संविधानको धारा २४४ को उपधारा (१) अनुसार बागमती प्रदेश सभाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ सम्बन्धी विधेयक पारित गरे पछि प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी २०७६ असोज २८ गतेबाट लागु भएको हाे । उक्त ऐन अनुसार गठन भएकाे प्रदेश लाेक सेवा आयोगले बागमती प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहका विभिन्न सेवा, समूह, उपसमूह र तहका रिक्त पदमा उपयुक्त उम्मेदवार छनोट गरी पदपूर्तिका लागि स्थायी नियुक्तिकाे लागि सिफारिस गर्दै आएकाे आयोगका सचिव बाबुराम ज्ञवालीले बताए ।
आयोगले हालसम्म प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान व्यूरो, प्रदेश तथा स्थानीय तहका संगठित संस्थाको वार्षिक पदपूर्ति कार्यतालिका प्रकाशन गरेको छ । यसैगरी विभिन्न सेवा, समूह र तहका ४५ वटा पाठ्यक्रम नयाँ निर्माण गरी लागू गरेकाे छ ।
आयोगमा माग भइ आए अनुसार जम्मा १ सय ३४ वटा बढुवा तथा खुला तथा समावेशी विज्ञापन प्रकाशन गरिएको छ । जस अन्तरगत बढुवा सूचना ८२, आन्तरिक अन्तर सेवा विज्ञापन ९, अन्तर सेवा विज्ञापन १०, खुला प्रतियोगितात्मक ५४ र समावेशी ६१ वटा रहेका छन् । उक्त विज्ञापनहरुबाट बढुवातर्फ १ सय ५४, आन्तरिक अन्तर सेवातर्फ १०, अन्तर तहतर्फ ११, खुला प्रतियोगितातर्फ ४ सय ८१ तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ २ सय ९४ गरी जम्मा ९ सय ५० पदका लागि दरखास्त माग गरिएको सचिव ज्ञवालीले जानकारी दिए ।