राधेश्याम खतिवडा
चितवन, मंसिर ७ /प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई उच्च निगरानीमा राखिएको छ ।
चितवनमा अहिलेसम्म विप्लव समर्थक १४ जना कार्यकता पक्राउमा परेका छन् । अरु समर्थकलाई पनि निगरानीमा राखिएको र जिल्लाको माडी क्षेत्र र पहाडी क्षेत्रलाई विशेष सुरक्षा योजनामा राखिएको प्रहरीले जानकारी दिएको छ ।
भर्खरै सम्पन्न भएको प्रदेश नम्बर ३ अन्तर्गतका सुरक्षा प्रमुखहरुको बैठकले चितवनमा चुनावका लागि विप्लव समूह नै प्रमुख चुनौतीका रुपमा रहेको निष्कर्ष निकालेको थियो ।
दोस्रो चरणमा चुनाव हुने चितवन सबैको आकर्षणको केन्द्र रहेको छ । चितवनलाई विप्लव समूहले चुनाव बिथोल्ने गतिविधिको हेडक्वाटर बनाउन सक्ने सुरक्षा निकायको अनुमान रहेको छ । जिल्लाका माडी क्षेत्रमा रहेको बाँदरमुढे आसपासलाई विप्लव समूहले हेडक्वाटर बनाउन सक्ने अनुमान गरिएको छ ।
१४ जना पक्राउ
चुनाव विरोधी गतिविधि गरेको भन्दै अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीका १४ जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला इन्चार्ज लालबहादुर विसी लगायतका १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।
नेकपाका जिल्ला, क्षेत्र र इलाका स्तरका कार्याकर्ता र विद्यार्थी नेताहरु पक्राउ गरिएको जानकारी दिँदै डएसपी ढकालले पक्राउ नपरेका अन्य कार्यकर्ताहरु प्रहरीको निगरानीमा रहेको बताउनुभयो । अन्दाजी ५ किलो बराबरको २२ थान जिलोटिनका लोलासहित पड्काउनका लागि प्रयोग हुने तारसहितको विस्फोटक पदार्थ बरामद गरिएको उहाँले बताउनुभयो ।
समर्थक पनि निगरानीमा
नेकपाका जिल्ला, इलाका स्तरका कार्यकर्ता पक्राउ गर्ने र समर्थकलाई निगरानीमा राखिएको डिएसपी ढकालले बताउनुभयो । निगरानी गर्न र सूचना लिनका लागि गाउँ गाउँमा सादा पोषाकमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । “हामी सबैको निगरानी गर्दैछौँ” डिएसपी ढकालले भन्नुभयो “समर्थकहरुका समान्य गतिविधि पनि निगरानी गरिरहेका छाँै शंकालागेपछि पक्राउ गर्छौँ ।”
विगतमा पार्टीको समर्थन राख्ने अहिले शुभ चिन्तक मात्रै रहेकाहरुको पनि निगरानीमा राखिएको उहाँले बताउनुभयो । सामान्य गतिविधिको पनि हरेक दिन सूचना लिइरहेको उहाँले बताउनुभयो । चितवनमा प्रवेश गर्ने नयाँ व्यक्ति, गाउँमा प्रवेशका गरेका नयाँ मान्छेहरुलाई समेत निगरानीमा राखिएको जानकारी दिँदै उहाँले शंका लागेको अवस्थामा सोधपुछ गर्दै आएको बताउनुभयो ।
माडी र पहाडी गाविस केन्द्रित
जिल्लाको माडी क्षेत्र र पहाडी क्षेत्रलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । सदरमुकामबाट टाढा रहेको, पर्सा जिल्ला र भारतसँग सिमाना जोडिएकोले माडी धेरै निगरानीमा राखिएको डिएसपी ढकालले बताउनुभयो ।
यसैगरी जिल्लाको पहाडी क्षेत्रमा रहेका साबिकका ८ वटा गाविसलाई पनि विशेष निगरानीमा राखिएको उहाँले बताउनुभयो । प्रहरीको पहुँच कम भएको क्षेत्रमा बढी ध्यान दिइरहेको बताउँदै उहाँले चुनाव विरोधी गतिविधि देखिए प्रहरीलाई खबरगरी सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।
यस बाहेक जिल्लामा बाहिरी मानिस आएर बसोबास गर्ने स्थान र विद्यार्थीहरुको कोठालाई पनि विषेश निगारानीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली र जिल्लाको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो । भारतीय नम्बर प्लेटका गाडीको निगरानी पनि गरिएको छ ।
देशका विभिन्न स्थानमा उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि चितवको सुरक्षा व्यवस्थापनलाई कडाइ गरिएको छ । जिल्लाका होटल तथा रेष्टुरेण्टहरुमा आउने व्यक्तिहरुको निगरानी राखिएको छ । कुन होटलमा के कति मानिस बसेका छन्, उनीहरुको नियमित रेकर्ड राख्ने गरिएको छ ।
प्रहरीको सुरक्षा योजना
जिल्लामा रहेने १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदान स्थललाई संवदेनशीलको सूचिमा रहेकोले उच्च सर्तकता अपनाइएको प्रहरीले बताएको छ ।
जिल्लामा नेपाल प्रहरीको मात्रै तीन हजार २९६ परिचालन हुनेछन् भने म्यादीको संख्या एक हजार ७१० रहेको छ । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बिचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुने बताइएको छ ।
सुरक्षा समितिले नेपाल प्रहरीको मोवाइल टोल, रिजर्व टोली र सिभिल टोली, सशस्त्र प्रहरीको मोवाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको समूह परिचालन गरिने छ ।
जिल्लाका ४०८ वटा मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ जना जनपथ प्रहरी परिचालन हुने छन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिने छ । त्यसमा प्रहरीकै मोवाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिने छ ।
प्रचण्डको गृह जिल्लालाई विप्लव समूहले हेडक्वार्टर बनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा
प्रचण्डको गृह जिल्लालाई विप्लव समूहले हेडक्वार्टर बनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस