भरतपुर, ३ मंसिर ।
भारतलाई हराउँदै अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतलाई उसैको घरेलु मैदानमा ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौंपटक विश्वकपको ट्रफी उचालेको हो ।
लगातार १० खेल जितेर फाइनलमा पुगेको भारत उपाधि भिडन्तमा भने चुकेको छ । भारतले १२ वर्षयता एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन ।
अहमदावादको नरेन्द्र मोदी स्टेडियममा २४१ रनको सामान्य लक्ष्य कंगारु टोलीले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो ।
अष्ट्रेलियालाई छैटौंपटक एकदिवसीय विश्वकपको उपाधि जिताउन ट्राभिस हेडले उत्कृष्ट ब्याटिङ गरे । उनले १२० बलमा १३७ रन बनाएपछि भारतीय आशामा तुषारापात भएको थियो । हेडले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
८१ रनमा ३ विकेट गुमाएर दबाबमा आएको टिमलाई हेडले मार्नस लाबुसाँगेसँग मिलेर जितसम्म पुर्याएका थिए । लाबुसाँगेले अविजित ५८ रन बनाए ।
भारतका जसप्रित बुमराहले २ र मोहम्मद शामीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारत अन्तिम बलमा अलआउट हुँदै २४० रनमा सीमित भएको थियो । केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा प्याट कोमिन्स र जोस हेजलउडले २-२ विकेट लिएका थिए ।
यो विश्वकपमा भारतका विराट कोहलीले सर्वाधिक ७६५ रन बनाए भने भारतकै मोहम्मद शामीले सर्वाधिक २४ विकेट लिए ।