मकवानपुर, २३ कात्तिक ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मकवानपुरको हेटौंडामा भएकाे एन्फाकाे विशेष साधारणसभामा बिहीबार नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई मतदान भएको थियो ।
मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका छन् । एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमध्ये ५२ जनाले अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने अर्थात अविश्वासको प्रस्तावको विपक्षमा भोट हाले भने १ भोट बदर भएको थियो । अध्यक्ष हटाउने पक्ष अर्थात अविश्वासको प्रस्तावको पक्षमा भने एक भोट पनि परेन ।
साधारणसभामा २ सय १० जना प्रतिनिधिको उपस्थिति रहेकाे भएपनि ८७ जना सदस्यसँग मात्र मताधिकार रहेकाे थियाे । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् ।
अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् । उद्घाटन सत्र नै नराखी विशेष साधारणसभाकाे कार्यक्रम सुरु गरिएकाे थियाे । साधारण सभामा विवाद हुने सक्ने आंकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे थियाे ।
नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै उनीसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए । उनीहरूले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् । एन्फाको असोज १७ गते बसेको बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।