भरतपुर, २१ कात्तिक ।
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण आज मंगलबारबाट सुरु हुने भएको छ ।
विमोचन इभेन्ट एण्ड इन्टरटेन्मेन्टले युवा तथा बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले स्पिकिङ च्याम्प आयोजना गर्न लागेको हो । सोमबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत इभेन्टले प्रतियोगिता बारे जानकारी गराएको छ ।
प्रतिस्पर्धामा आधारभूत तथा माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । अडिसनबाट प्रारम्भिक छनोटमा आएका प्रतिस्पर्धीहरुले तीन दिनसम्म नि:शुल्क तालिम लिएपश्चात फाइनल प्रवेशको लागि विभिन्न राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
मंगलबार माडीमा पहिलो अडिसन गरेर प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरिने आयोजकले जनाएको छ । यसलगत्तै गैंडाकोट, पश्चिम चितवन, कावासोती, खैरहनी, रत्ननगर र भरतपुरमा क्रमशः मङ्सिर ८, ९, १५, १९, २२ र ३० गते अडिसन हुँदैछ ।
करिब ३ महिनासम्म चल्ने प्रतिस्पर्धाको फाइनल माघ २६ गते हुनेछ । प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल, ट्रफी, प्रमाणपत्र र छात्रवृत्ति प्रदान गरिने आयोजक संस्था विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक विमोचन आचार्यले बताए । उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा भएको वाककला प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरे । हजारभन्दा बढी विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहने अपेक्षा रहेको उनको भनाइ छ ।
पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको इभेन्टको यो तेस्रो संस्करण हो ।पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए ।
यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए ।
प्रतियोगिताको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजकको रुपमा रहेको छ । यस्तै कार्यक्रमका अन्य प्रायोजकमा अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, आरम्भ कलेज, अरोमा कलेज, एबसोलुट कम्प्युटर एण्ड मोबाइल, सी स्टार कन्सल्टेन्सी, एओमस कलेज, एमस सिए, हिमाली मम, रेक्स आयल, चिया दरबार, सिराईचुली होटल, नेपाल क्राफ्ट एण्ड फाइबर उद्योग, स्वस्तिक प्रोडक्सन, एस डी टेक र कोसेली गिफ्ट रहेका छन् । प्रतियोगिताको मुख्य प्रबर्द्धकमा माडी नगरपालिका, गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका रहेका छन् भने लियो जिल्ला परिषद् ३२५ आर नेपाल, बेटर चितवन, नवज्ञान सेन्टर र लियो क्लब अफ भरतपुर युथले साथ दिएका छन् । प्रतियोगितालाई चितवनका संचारकर्मी समीर चापागाइँले सहजीकरण गर्दैछन् ।