मकवानपुर, १७ कात्तिक ।
मकवानपुरको बागमती गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण गरिने भएको छ । १५ शैय्या भवनको शिलान्यास गरिएसँगै अस्पताल निर्माण सुरु भएको हो ।
बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले बागमती–५ कोइराला दमारमा अस्पतालको शिलान्यास गरेका हुन् । अस्पताल निर्माणका लागि संघीय सरकारले २१ करोड बजेट विनियोजन गरिएको थियो । टेण्डर आह्वान गर्दा १७ करोड ८८ लाख रुपैयाँमा अस्पताल निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको बताइएको छ ।
संघीय सरकारको प्रत्येक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल निर्माण गर्ने नीति तथा अभियान अनुरुप बागमतीमा अस्पतालको शिलान्यास गरिएको प्रदेश सभा सदस्य पुलामीले बताए ।
अस्पताल निर्माण सम्पन्न भएपछि बागमती गाउँपालिकासँगै आसपासका सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । बागमतीमा अहिले एउटा स्वास्थ्य चौकी रहेकोमा प्राथमिक उपचारको सेवा मात्रै प्रदान गरिदै आएको पालिकाले जनाएको छ । अति सामान्य विरामीहरु पनि पालिकाबाहिर रेफर गर्नुपर्ने अवस्था रहेकोमा अस्पताल निर्माण पछि स्वास्थ्य उपचारमा सहजता आउने उनले बताए ।
अस्पतालबाट आधारभूत उपचार, सामान्य चिकित्सा, दन्तस्वास्थ्य, स्त्री, बाल स्वास्थ्य र सामान्य शल्यक्रियासहितको सेवा प्रदान गरिने भएको छ । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २४ जना स्वास्थ्यकर्मी रहने जनाएको छ । अस्पताल भवन निर्माणको जिम्मा काभ्रेको शिवालय बिल्डर्स प्रालिले पाएको छ । अस्पताल भवनको निर्माण कार्य २०८२ जेठ २३ सम्ममा सम्पन्न गर्नुपर्ने गरी शिवालयसँग सम्झौता भएको छ ।
अस्पताल शिल्यान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा नम्बर ५ का अध्यक्ष विजयकुमार भोलन, ४ का अध्यक्ष दन्तलाल माझी, ७ नम्बर वडा अध्यक्ष उत्तरबहादुर भोलन, २ नम्बर वडा अध्यक्ष जनक पहरी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलगायतको उपस्थिति रहेको थियो ।