मकवानपुर, १५ कात्तिक ।
मकवानपुर जिल्लामा गैरआवासीय नेपाली (एनआरएनए) लाई पहिलोपटक नागरिकता दिइएको छ ।
बुधबार गैरआवासीय नेपाली हेटौंडाका संजिता विडारी र श्रीकृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाली नागरिक प्रदान गरेको हो । हेटौंडा- ११ नवलपुरकी बिडारी र हेटौंडा- ५ का थापा श्रीमान श्रीमती हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उनीहरुलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । नागरिक प्राप्ति पछि प्रजिअ सेढाईले उनीहरुलाई ईश्वर, देश र जनताको नाममा शपथ खुवाएका थिए ।
विगत १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएक बिडारी र थापाले गैरआवसीय नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै देश प्रतिको माया अझै बढेको बताए । आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको भन्दै थापाले देशलाई आर्थिक रुपमा सहयोग पुग्ने बताए ।
यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेका थिए ।
गत जेठमा गैरआवासीय नेपालीलाई नागरिकता दिने गरि सरकारले नागरिकता सम्बन्धी ऐन संशोधन गरेको थियो ।