गैँडाकोट, १५ कात्तिक ।
गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा स्थापित आँखा उपचार केन्द्र आज बुधबारदेखि सेवा शुभारम्भ हुने भएको छ । केन्द्रका लागि आँखा जाँच गर्ने उपकरणलगायत भवन व्यवस्थापन भएपछि आज केन्द्रको उद्घाटन गर्न लागिएको गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिए ।
केन्द्रको गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केन्द्रका लागि आवश्यक भवन अस्पताल परिसरमा रहेको क्यान्टिनलाई मर्मत गरी तयार गरिएको छ । भवनमा आँखा जाँच गर्ने उपकरण, चस्मा, कर्मचारी तथा अन्य व्यवस्थापन पूरा भएको गैँडाकोट नगर अस्पतालका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएको हो ।
गैँडाकोट नगरपालिका र भरतपुर आँखा अस्पतालबीच भएको सम्झौता अनुरुप आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकाले आवश्यक भवन निःशुल्क उपलब्ध गराउने छ । केन्द्र स्थापनाका लागि आर्थिक वर्ष ०८०/०८१ बाट निरन्तर वार्षिक रुपमा ५ वर्षसम्म ६ लाख रुपैयाँ भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने छ । तर चेकजाँच दैनिक २५ जनाको अनुपातमा बिरामी अस्पतालमा चेकजाँचको लागि दर्ता भई चेकजाँच गराएमा नगरले वार्षिक रुपमा प्रदान गर्ने रकम प्रदान गर्नु नपर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले आँखा उपचार केन्द्रको स्थानीय स्तरमा प्रचारप्रसार तथा समन्वय गर्ने, आँखा उपचार केन्द्रको सहयोग समितिमार्फत आँखा स्वास्थ्य सेवा स्थानीय स्तरमा विस्तार गर्ने, आँखा उपचार केन्द्रको लागि एक जना सहायक स्तरको स्थानीय कर्मचारी छनौट गर्ने छ ।
त्यस्तै नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने औजार उपकरणहरु, औषधी, चस्मा, लेन्स तथा स्टेशनरीको सामानहरु उपलब्ध गराउने छ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीहरुको व्यवस्थापन तथा सेवा सुविधाहरु नेपाल नेत्रज्योति संघको नियमानुसार उपलब्ध गराउने एवं औजार उपकरणहरुको मर्मत सम्भार तथा अन्य व्यवस्थापकीय कार्य भरतपुर आँखा अस्पतालले गर्ने छ । सम्झौता अनुसार आवश्यकता अनुसार श्रोत साधन जुटाई कम्तीमा वर्षमा एक पटक निःशुल्क अपरेशन सहितको आँखा शिविर सञ्चालन गर्ने छ ।