भरतपुर, १४ कात्तिक ।
नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले नेपाली काँग्रेसको पुनर्निर्माण बिना देश अगाडि बढ्न नसक्ने बताएका छन् । लोकतन्त्रको पक्षमा उभिएको काँग्रेस आफै सुधारात्मक शैलीमा अगाडि नबढे अरु पार्टीहरुमा सुधार नआउने भन्दै उनले काँग्रेसभित्र पुनर्निर्माण आवश्यक रहेको औंल्याएका हुन् । देशको बागडोर सम्हालेको माओबादीमा सुधार हुनुपर्ने कुरालाई जोड दिँदै आचार्यले भने – ‘काँग्रेस नसुध्रिएसम्म माओबादी सुध्रिने छैन । त्यसैले देशलाई अगाडि बढाउन अब काङ्ग्रेसमा पुनर्निर्माण आवश्यक छ ।’
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पार्टी कार्यालय, कमलनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले, देशको अर्थतन्त्रमा सुधार ल्याउन राजनीतिक पार्टीहरुमा सुधार आउनु आवश्यक रहेको र यसलाई अभियानका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
तीन वर्षभन्दा बढी एमालेसँग पार्टी एकिकरणको नाटक गरेर माओवादीले आफ्नो असली रुप देखाएको कुरा उल्लेख गर्दै आचार्यले भने – ‘पार्टी सभापतिको एकल निर्णयबाट माओवादी अङ्गाल्नु भनेको काङ्ग्रेसको छातीमा चोट पुर्याउनु हो । यसले पार्टीलाई दिग्भ्रमित बनाएको छ ।’ माओवादीसँग गठबन्धन गरेर लाचार सरकारको नेतृत्वमा बस्नु उपयुक्त नभएको उनको तर्क थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै चितवन जिल्ला सभापति राजेश्वर खनालले पार्टीको जिम्मेवार तहमा बसेकाहरुले नै आत्मसम्मानका कुराहरुमा बढी समय खर्चिइ, पार्टीलाई अगाडि बढाउन नीतिगत छलफलमा कमजोर देखिएको बताए । नेतृत्वमा हुने व्यक्तिहरुले जनतामा विश्वास जगाउने वातावरण बन्ने शैलीले काम गर्न अनुरोध खनालको थियो ।
उनले भने ‘आगामी मंसिर १३ देखि १५ सम्म महासमितिको बैठक छ । महासमितिको बैठकमा हामीले नेपाली काङ्ग्रेसलाई सुधार्नुपर्ने कुराहरुलाई पनि टेबल गर्नुपर्छ । त्यसको अतिरिक्त मुलुकको संविधानमा जनताले मन नपराएका कुराहरुलाई पनि काँग्रेसको महासमिति बैठकबाट पारित गरेर संसद लैजानुपर्छ । त्यस्ता जटील कामहरु हामी महासमिति बैठकमा गर्दैछौं ।’ खनालले महासमिति बैठकका लागि आवश्यक पूर्व तयारी गर्नका लागि समेत सबै पार्टीका जिम्मेवार व्यक्तिहरुलाई आव्हान समेत गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्यद्वय गोभिन्द भट्टराई र टेकप्रसाद गुरुङ, जिल्ला कार्यसमितिका सदस्यहरु, क्षेत्रीय समिति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता चितवन काङ्ग्रेसका सभापति राजेश्वर खनालले गरेका थिए भने सहजीकरण ध्रुवराज पोखरेलले गरेका थिए ।