मकवानपुर, १० कात्तिक ।
मेची–महाकाली साइकल यात्राको लागि हेटौंडाका साइकलप्रेमी ११ जना सहित १३ जना शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गरेका छन् । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा प्रस्थान गरेको साइकलयात्रा टोलीले शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गर्ने यात्राका सदस्य राजु थापाले जानकारी दिए ।
साइकल यात्रा टोलीमा हेटौंडाका ११ जना र बुटवलका २ जना रहेका छन् । स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देशको लागि हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा साइकल यात्रा हुनेछ भने सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा हुन लागेको हो ।
टोलीमा श्रेष्ठसहित, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैछन् । व्यक्तिगत खर्चमा मेची महाकाली साइकलयात्रा गर्न लागिएकाे हाे ।
चेतनाथ आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ,अपाङमैत्री लेन समावेस गर्न सोसाइटीले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।
२०५४ साल माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेची–महाकाली यात्रा गरेका थिए । भिजिट नेपाल वर्ष १९९८ को अवसरमा हेटौंडाको शहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।
२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र वर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उनीहरुले बताएका छन् । व्यक्तिगत खर्चमा दोस्रोपटक मेची–काली साइकलयात्रामा जान लागेका आचार्य नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष हुन् ।