भरतपुर, ८ कात्तिक ।
प्रगतिशील एवम् बामपंथी विचारधाराका छन्दकवि प्रकाश चापागाईंको नयाँ कवितासङ्ग्रह `कमिलाको प्वाँख´ आउने भएको छ । पेज टर्नर पब्लिकेसन्सबाट कात्तिक महिनामा सार्वजनिक हुन लागेको कमिलाको प्वाँख चापागाईंको छैटौं पुस्तक हो ।
२०४० सालदेखि कविता लेखनमा सक्रिय चापागाईंका यसअघि`बदला´ एकाङ्की नाटक (२०४०), `आँखाभरि´ शोककाव्य (२०६७),`बुलेट नम्बर पाँच´ खण्डकाव्य (२०७०) `आरोहण´ महाकाव्य संयुक्त लेखन (२०७४) र `मगुई´ खण्डकाव्य (२०७७) पुस्तक प्रकाशित छन् ।
साहित्य सङ्गम चितवनका अध्यक्ष रहेका उनी भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य हुन् । चापागाईंले संगठनका विभिन्न पुस्तक र पत्रपत्रिकाको सम्पादन समेत गरेका छन् ।
नवीनतम् कवितासङ्ग्रह कमिलाको प्वाँखमा ८० वटा कविता छन् । सामाजिक एवम् राजनीतिक विषयवस्तुमा लेखिएका कविताहरू सङ्ग्रहमा राखिएको कवि चापागाईंले बताए । `विशेषगरी माओवादी युद्धदेखि अहिलेसम्मका सन्दर्भलाई कवितामार्फत उतार्ने कोसिस गरेको छु´, उनले भने – `सामाजिक विकृति विसङ्गति, राष्ट्रप्रेम र राजनीतिका नाउँमा खेलिने फोहोरी खेल प्रतिको खबरदारी र भुइँ मान्छेका आवाजहरू मेरा कविताका स्वरहरू हुन् ।´