गैंडाकोट, ४ कात्तिक ।
विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले शनिबार सरोकारवाला पक्षसँग वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेको छ । संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले वार्षिक नीति तथा कार्यक्रममाथि व्यापक छलफल गरेको छ ।
संस्थाका सचिव गोविन्द रिमालले गत वर्षको प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा संस्थाका शेयर सदस्य संख्या ९ सय ४८ बाट १ हजार २ सय पुर्याउने, शेयर पूँजी ७ करोड ८८ लाख ७४ हजारबाट वृद्धि गरी ८ करोड ५० लाख पुर्याइने बताए । भैंसाखोरी र कावासोती क्याम्पस रोडबाट २ वटा मार्ट सन्चालनमा ल्याउने, सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै नगदरहित कारोबारमा जोड दिइनेलगायतका विषयलाई कार्यक्रममा समावेश गरिएको छ ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद सापकोटाले समितिको तर्फबाट प्रतिवेदन पेश गरेको सो कार्यक्रममा संस्थाका सन्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, विभिन्न मार्ट व्यवस्थापन समितिका संयोजक र सदस्यहरू, खरिदबिक्री उपसमिति, शिक्षा तथा संचार उपसमिति र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उठेका जिज्ञासामाथि अध्यक्ष सापकोटाले जवाफ दिएका थिए । सोही सन्दर्भमा दशैं तिहार र छठको शुभकामनासमेत आदानप्रदान गरिएको संस्थाका व्यवस्थापक सिजन पराजुलीले जानकारी दिए । वि.स. २०७६ मा पहिलो मार्ट शुरू गरेको संस्थाले हाल ६ वटा मार्ट सन्चालन गर्दै आएको छ । संस्थाले दशैं, तिहार लक्षित कार्यक्रम सन्चालन गर्दै आएकोले प्रत्यक्ष लाभ लिन संस्थाका उपाध्यक्ष श्रीराम सुवेदीले आग्रह गरे ।